बागलुङ/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवअधिकार वर्ष पुस्तक २०२५ को लागि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार आयोजित कार्यक्रममा इन्सेक बागलुङकी प्रतिनिधि सिर्जना पन्तले यो वर्षको साउन यता मात्रै ३० वटा मानवअधिकार उल्लंघनका घटना दर्ता भएको जानकारी गराइन् । ती मध्ये बलात्कारका ५, घरेलु हिंसाका १४, हत्या प्रयासका २, बहुविवाहको एक र अभद्र व्यवहारको १ मुद्दा दर्ता भएको हो । त्यस्तै बाल अधिकार हनन्तर्फ पनि ६ वटा बलात्कारका घटना भएका छन् । त्यस बाहेक १ हत्याको घटना समेत भएको प्रतिवेदनमा उल्लेख छ ।
ती घटनालाई आगामी सन् २०२५ मा इन्सेकले सार्वजनिक गर्ने वर्ष पुस्तकमा समेट्नका लागि समीक्षा गरिएको हो । ‘पुस्तकमा प्रकाशित भैसकेपछि समीक्षा गर्दा त्रुटी रहने भएकोले प्रकाशन अघिनै समीक्षा गरेर जाने अभियान स्वरुप ती घटनालाई प्रस्तुतीकरण गरिएका हो’ पन्तले भनिन्, ‘हरेक वर्ष यो अभियान गर्दा घटनाको सत्यतथ्य स्पष्ट पार्न सकिन्छ ।’ त्रुटी भए सच्याउने अबसर पनि हुने उनले बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मानवअधिकारको क्षेत्रमा क्रियाशिल इन्सेकले राज्यका कतिपय कामको दस्तावेज पनि राखिदिएको बताए । उनले नागरिकको अधिकार रक्षा गर्ने दायित्व राज्यको भएपनि खबरदारी गर्ने र भएका कामको पनि उल्लेख गरिदिएकोमा धन्यवाद दिए ।
प्रहरी उपरिक्षक ऋषिराम कंडेलले नागरिकहरु अन्यायमा नपरुन, कसुर गर्नेहरु नछुटुन भनेर प्रहरीले काम गरिरहेको भन्दै ती काम मध्येका जघन्य अपराधका दोषीलाई कारवाही गर्ने काममा सक्रिय भएको बताए । उनले ती घटनाहरु दस्तावेज बन्दा पीडितको न्याय हुने धारणा राखे । कार्यक्रममा पत्रकारहरुले घटनाको समीक्षा र आगामी दिनमा ती घटना न्युनिकरणमा राज्यले भूमिका खेल्नुपर्ने बताएका थिए ।





