बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ र जिल्ला प्रशासन कार्यालयबीच बिहिबार अन्तरक्रिया कार्यक्रम सन्पन्न भएको छ । हालै निर्वाचिन नयाँ समिति तथा प्रशासनबीच राम्रो अभ्यासका काममा सहकार्य गर्ने र प्रशासनका कमजोरीमा खबरदारी गर्ने समझदारी समेत बनेको छ ।
निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको कार्यक्रममा महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले सम्मानलाई राम्रो अभ्यास मान्न सकिने बताए । उनले प्रशासनले गर्ने कमीकमजोरीमा भने पत्रकारले आँखा चिम्लेर नबस्ने समेत जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पत्रकारहरुले जिल्लाका विकास निर्माण, बिपत व्यवस्थापन र जनताका आधारभूत आवस्यकताका विषयमा कलम चलाएर प्रशासन र राज्यलाई साथ दिनुपर्ने बताए । ‘पत्रकारले कमीकमजोरी औल्याउने नै हो, त्यसमा प्रशासनको साथ हुने’ उनले भने, ‘विकास निर्माणका राम्रा अभ्यास पनि जनताको माझमा लैजाँदा समाजमा पनि सकारात्मक भावना विकास हुन्छ ।’
उनले वातावरण संरक्षण, जलवायु परिवर्तनबाट आम नागरिकमा परेको प्रभाव जस्ता विषयमा पत्रकारले कलम चलाउनुपर्ने धारणा राखेका थिए ।
उक्त अबसरमा पत्रकारहरुले बजारमा मनपरी भाडा असुल गर्ने सवारी साधनदेखि एकाधिकारमार्फत जनतालाई ठग्ने प्रवृत्तिमा प्रशासनको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सूचना अधिकारहरु सूचनामैत्री नभएको, कार्यालयहरुले आफ्ना वेवसाइट स्पष्ट र अद्यावधिक नगर्दा समाचार संकलनमा असर परेको धारणा राखेका थिए । कार्यक्रममा प्रजिअ सुवेदीले कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्दै कतिपय विषय सूचना अधिकारी र कार्यालय प्रमुखहरुबीच राख्ने पनि आश्वासन दिएका छन् ।





