बागलुङ/राष्ट्रिय सभाकी सांसद कमलादेवी पन्तले राज्यले नीति निर्माण गर्दा लैगिक मैत्री, वातावरण अनुकुल र सामाजिक समावेशीकरणको आधारमा गर्नुपर्ने बताएकी छिन् । उनले स्थानीय र प्रदेश सरकारको जिम्मेवारी पनि सोही अनुसारको हुनुपर्ने बताइन् ।
पन्तको नेतृत्वमा संघिय र प्रदेशसभाका डेढ दर्जन सांसदसहित बागलुङ आएको टोलीलाई स्वागत गर्न आयोजित बागलुङ नगरपालिकाको कार्यक्रममा बोल्दै उनले सामाजिक समावेशीकरणले समाजमा बिभेद अन्त्य गर्ने बताइन् । साथै भौतिक बिकास गर्दा वातावरणको ख्याल गर्न पनि आग्रह गरिन् । पछिल्लो समय वन क्षेत्र बढ्ने तर वन ऐन अभावमा स्थानीयले खेप्नु परेको सास्ती बारे सरकारको ध्यानाकर्षण गराउने पनि बताइन् । सरकारले वन ऐन नल्याउँदा जंगल क्षेत्र बढेपनि जनताले फाइदा नपाएको गुनासो बढेको छ । उनले नीति निर्माण गर्दा दिगो बिकासका आधार रोज्नुपर्ने समेत सुझाव दिइन् ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले दिगो बिकासका अवधारणामा काम गरेको बताए । उनले त्यसकालागि दिर्घकालिन र मध्यकालिन योजना बनाएर शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतमा पनि लगानी बढाएको बताए । डोजरे बिकास अन्त्य गरी भएका सडक स्तरीय बनाउने, नगरलाई तरकारी, दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने तथा सामाजिक बिकासलाई प्राथमिकता दिने लक्ष्य पनि सुनाए ।
कार्यक्रममा नगरपालिका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, प्रशासकीय अधिकृत भीमसेन पन्त लगायतले नगरको योजना, कानून निर्माणको अबस्था र का मगर्ने शैली बारे जानकारी गराएका थिए ।
उक्त अबसरमा सांसदको टिमलाई संयोजन गरेर ल्याएको सर्पोट नेपालका टोली नेता राकेश कर्णले स्थानीय सरकारले बनाएका नीति नियम तथा कार्यक्रमको अध्ययन र संघिय सरकारलाई सुझाव संकलन लगायतको अभियानमा टोलीलाई विभिन्न क्षेत्रमा ल्याएको बताए । राष्ट्रिय सभा, प्रतिनिधिसभा, विभिन्न प्रदेशका प्रदेशसभा सदस्य विभिन्न आयोगका प्रमुख समेतलाई यो अभियानमा सपोर्ट नेपालले जोडेको हो ।





