बागलुङ/बागलुङ नगरपालिका वडा नम्वर ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान स्वरुप बानपा ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बालमैत्री स्थानीय शासन युक्त घोषणालाई घोषणामा मात्र सिमित राख्न नहुनेमा जोड दिए । सुवेदीले कार्याव्यनको पाटो महत्वपूर्ण रहेकाले यसलाई कार्यान्वयन गर्नका लागि सवैको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उप–प्रमुख राजु खड्का, पूर्व नगर प्रमुख जनकराज पौडेल, बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, कालीगण्डकी आवसीय माविका बिद्यार्थी संगम क्षेत्री र आदर्श बिद्या मन्दिर माविका बिद्यार्थी सन्ध्या थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा नम्बर ३ का वडा सदस्य अर्जुन खड्काले प्रस्तुत गरेका थिए । यसअघि बानपा ४, १३, १४, ११, १, २, ५,६, ७ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो । अव ८, ९, १० र १२ नम्वर वडालाई घोषणा गर्न बाँकी रहेको उपप्रमुख राजु खड्काले जानकारी दिए ।
वडा नम्वर ३ का स्थानियवासी, जनप्रतिनिधी, बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेवाजा, लाखेनाथ, झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रम वडा अध्यक्ष लक्ष्मण केसी सनिको अध्यक्षता, कार्यपालिका सदस्य धनमाया शर्माको स्वागत र गुराँश बिद्या सदनका प्रिन्सीपल निशान खड्का र सरिता पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।





