बागलुङ/साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङ को १३ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ । अधिवेशनले पुनः तेजप्रसाद शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चुडामणी आचार्य, सचिवमा डिल्ली प्रसाद गौतम, कोषाध्यक्षमा गणेश लम्साल र सह–सचिवमा श्रीकृष्ण पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवराज पन्तले जानकरी दिए ।
अधिवेशनबाट सर्वसम्मत रुपमा अधिकांश पदाधिकारी र सदस्यहरु अघिल्लो समितिमा नै रहेकाहरु आगामी कार्यकालका लागि निर्वाचित भएका हुन । समितीको सदस्यमा शारदा देवी शर्मा रिजाल, विमला मल्ल, उमेश गौतम, डिल्लीराज शर्मा, सावित्रा लामिछाने, सरिता शर्मा गौतम, बाबुराम पौडेल र अस्मिता पौडेल रहेका छन । अधिवेशनले मनोजराज शर्माको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । समितिको सदस्यमा सुवर्णा सापकोटा र जगन्नाथ कंडेल रहेको निर्वाचन समितिका संयोजक पन्तले जानकारी दिए ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले सहकारीलाई कस्तो बनाउने भन्ने विषय सवै शेयर सदस्यकै हातमा रहेको बताईन । उनले पछिल्ला दिनमा सहकारी क्षेत्रमा आएको समस्या सवै सहकारीमा नहुने हुँदा सवै शेयर सदस्यलाई साझेदारीमा ढुक्क भएर कारोबार गर्न आग्रह गरिन ।
कार्यक्रममा संस्थाका सल्लाहकार राजेन्द्र आचार्य, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार गण्डकी प्रसाद शर्मा पौडेल, संस्थाका पुर्व अध्यक्ष हरिप्रसाद गौतम, निलगिरी बचत तथा ऋण सहकारी संस्थाका सचिव मिनबहादुर केसी मिलन, निर्वाचन समितिका संयोजक शिवराज पन्त लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत सहित संस्थाले हाल सम्म गरेका गतिविधिका बारेमा अध्यक्ष तेजप्रसाद शर्माले जानकारी गराएका थिए । साधारण सभाकै अवसरमा जेष्ठ नगरिक, उत्कृष्ट कारोबार गर्ने शेयरसदस्य र जेहेन्दार विद्यार्थीलाई सम्मान गरिएको थियो ।
संस्थामा हाल १ हजार ६९४ जना शेयर सदस्य रहेका छन भने कुल शेयर पुँजी ५ करोड ९३ लाख रहेको संस्थाका प्रवन्धक त्रिलोचन रिजालले जानकारी दिए । सहकारीको हाल कुल २२ करोड ५० लाख पुँजी रहेको छ । सहकारीले सुपथ मुल्य पसल समेत संचालन गर्दै आएको छ ।
साधारण सभाले सचिव डिल्लीप्रसाद शर्माले प्रस्तुत प्रगती प्रतिवदेन, कोषाध्यक्ष गणेश लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक निलकण्ठ शर्माले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभा संस्थाका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता सचिव डिल्लीप्रसाद गौतमको र सहसचिव श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।





