सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालमैत्री अभियान पुरा गर्दै बागलुङ नगर

बालमैत्री अभियान पुरा गर्दै बागलुङ नगर

बुधवार बानपा ८ र बिहिवार बानपा १४ लाई बालमैत्री घोषणा गरेपछि सबै वडा बालमैत्री बनिसक्ने छन् ।


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८१, मंगलबार

बागलुङ/बागलुङ नगरपालिकाले साँढे २ बर्ष अघि गरेको निर्णयको कार्यान्वयन अन्तिम चरणमा पुगेको छ । बालमैत्री नगर घोषणाको तयारी स्वरुप बालमैत्री शासनयुक्त वडाहरु घोषणा भएका हुन् ।
मंगलवार बागलुङ नगरपालिका वडा नंं ९ तित्याङलाइ बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको हो । गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्व पर्यटन मन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री वडाको घोषणा गरे । उक्त अबसरमा थापाले अबको बिकास बालमैत्री बन्नुपर्ने बताए । उनले वातावरण संरक्षण गर्दै हरेक पूर्वाधार लगायतका योजनामा बालबालिकाको पहुँचपुगेको बनाउनुपर्ने आवस्यकतामा जोड दिए ।
थापाले शिक्षा बालमैत्री र गुणस्तरीय हुनुको साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको बन्नुपर्ने समेत बताए । ‘अबको शिक्षा देश बिकासमा इमान्दार जनशक्ती उत्पादन गर्नुपर्ने बेला आएको छ’ उनले भने, ‘राज्यप्रति अनुदार जनशक्तीले देशको भविष्य दिनदिनै कमजोर भएको छ ।’
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बालमैत्री अभियान एउटा निर्णय भएपनि यो अभियानले नगरको अबस्था परिवर्तन गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र समेतको अबस्थामा सुधार भएको बताए ।
वडा अध्यक्ष राजु थापाको अध्यक्षता, शिक्षकहरु टिका थापा र इन्द्र खड्काको संचालन तथा वडा सदस्य राजु खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा सबै दलको प्रतिनिधित्व गर्दै एमालेका सचिव गणेश थापा, वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै बानपा ६ का अध्यक्ष रुद्र केसी, स्वास्थ्यचौकी प्रमुख नारायण पौडेल, नेपाल रेडक्रस सोसाइटीका उपसभापति सीता शर्मा, चारतारे युवा क्लबका उपाध्यक्ष लक्ष्मण खड्का, जिल्ला समन्वय समितिकी सदस्य हरिकला पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, बालक्लब संजाल तित्याङका अध्यक्ष निश्चल थापा, तित्याङ माबिकी बिद्यार्थी कबुल थापा लगायतले मन्तव्य राखेका थिए ।


कार्यक्रम अघि सबै बिद्यालयका बालबालिका, शिक्षक र अभिभावकले सचेतना ¥याली प्रस्तुत गरेका थिए । जन्मेदेखि १८ बर्षसम्मका तित्याङका ७ सय ३८ जना बालबालिकाले उमेर अनुसारको खोप पाएको, बिद्यालय शिक्षा पाएको, बालविवाह नभएको, बालश्रम मुक्त भएकोले वडालाई बालमैत्री घोषणा गरिएको वडा अध्यक्ष थापाले जानकारी दिए ।
यस सँगै बानपाका अधिकांस वडा बालमैत्री घोषणा भैसकेका छन् । बुधवार बानपा ८ र बिहिवार बानपा १४ लाई बालमैत्री घोषणा गरेपछि सबै वडा बालमैत्री बनिसक्ने छन् । सबै वडातहमा घोषणा भएपछि नगरपालिकाले आगामी माघ ९ गते नगर घोषणा सभा राख्ने योजना रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
बालमैत्रीनगर घोषणाको निर्णयले नगरभरी सकारात्मक सन्देश गएको समेत श्रेष्ठको भनाइ छ । बालमैत्रीनगर घोषणा गर्दा शिक्षा, स्वास्थ्य र अन्य क्षेत्र समेत गरी ५१ वटा सूचक पुरा गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधानबाट ग्रामीण क्षेत्रसम्म खानेपानीको व्यवस्थापन, स्वास्थ्यका सबै सूचक पुरा गर्ने अबस्था आएको छ भने बिद्यालय भवनहरु बनेको र बालमैत्रीभवन, धारा, शौचालय समेत बनेका हुन् ।
नेपाल सरकारले पनि आगामी २०८७ सम्ममा नेपाललाई नै बालमैत्री घोषणा गर्ने तयारी गरेको छ । त्यसको अभियान बानपाले पुस मसान्तमै सकेको हो । त्यस अघि अघिल्लो बर्ष गलकोट नगरपालिकाले घोषणा गरिसकेको छ भने अन्य पालिकाले पनि यो अभियानको काम थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->