सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दश वर्षदेखि बन्द आँखा खुल्दा ९० वर्षिय भद्री दंग

दश वर्षदेखि बन्द आँखा खुल्दा ९० वर्षिय भद्री दंग


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

बागलुङ/जैमिनी नगरपालिका वडा नं. १ की ९० वर्षिय भद्री थापाले दश वर्षदेखि आँखा नदेख्ने समस्या भोगेकी थिइन् । छोरा विरेन्द्र विदेशमा भएकोले बुहारी र नातीनातीनीले सहयोग गरेर मात्र उनी हिंड्न सक्थिन् । आफ्नै काम गर्न पनि धेरै समस्या थियो ।
बुधबार कुश्मीसेरामा आयोजित निशुल्क आँखा शिविरमा पुगेर उनले आँखा जँचाइन् । छोरा घर आएको समय पारेर आँखा जँचाउन लैजाँदा अपरेशन गर्नुपर्ने पत्ता लाग्यो । त्यसपछि बागलुङकै बलेवामा आयोजित अपरेशन शिविरमा उनको अपरेशन सम्पन्न भयो ।
दशकदेखि देख्न नसकेको आँखा खुल्दा उनी दंग परिन् । उमेरले ९० पुगेपनि आँखा देखेर मर्न पाउने भएँ भन्दै खुसी व्यक्त गरिन् । यसअघि बुहारीले घरव्यवहार गर्दा कतै निस्कन नपाएको, छोरा विदेशमा भएकोले शिविरमा वा अन्य अस्पतालमा लगिदिने कोही थिएनन् । यो अवसर पाएकोमा उनले शिविर संचालन गर्नेलाई पनि धन्यवाद दिइन् ।
लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आयोजना र माट्रिका आँखा अस्पताल काठमाण्डौंको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो । पहिलो दिनको शिविर कुश्मीसेरामा भएको हो भने दोश्रो र तेस्रो दिनको शिविर बलेवास्थिन नारायणस्थानमा भएको हो । शिविरमा वडा कार्यालय नारायणस्थान, नेपाल रेडक्रस सोसाइटी नारायणस्थान उपशाखाको पनि साथ र सहयोग मिलेको क्लबकी अध्यक्ष रंजिता श्रेष्ठले बताइन् ।
शिविरमा जैमिनीकै ७५ वर्षिय टेकबहादुर नेपालीले पनि दुवै आँखाको उपचार गर्न पाएको बताए । ठप्पै भएर पत्नि देउरुपाले डोहो¥याएर शौचालयसम्म लैजाने गरेकी थिइन् । उपचारपछि आँखा देख्न पाएर उनले अर्काको साथ लिनु नपरेको बताए । ‘अर्काको साथमा शौचालय जानु जस्तो गाह्रो केही थिएन, अहिले त सजिलो भयो’ उनले भने, ‘उपचार गराइदिने डाक्टर भगवान जस्तै भएर आए ।’
शिविरमा माट्रिका आँखा अस्पताल पुरानो बानेश्वरकी रिफेक्टिभ सर्जन डा. योगिता राजभण्डारी नेतृत्वमा १० जना चिकित्सकको टोली उपचारमा आएको थियो । बलेवा र कुश्मीसेराका गरी दुई शिविरमा ६ सय ५० बिरामीको आँखाको परीक्षण गरिएकोमा ८० जनाको अपरेशन गरिएको हो । त्यस बाहेक अन्य बिरामीलाई आवस्यकता अनुसार औषधी र चस्मा पनि बितरण गरिएको थियो ।
यो शिविरले ग्रामीण क्षेत्रमा कति बिरामी रोग लुकाएर बस्ने रहेछन् भन्ने पत्ता लगाउन सहज भएको श्रेष्ठले जानकारी दिइन् । ‘औपचारिकताका लागि शिविर गर्नुभन्दा वास्तविक समस्या भएकहरुको उपचारमा गरिएको लगानीबाट सन्तुष्ट भएका छौं’ श्रेष्ठले भनिन्, ‘शिविरलाई सबैको साथ र सहयोग प्राप्त भयो ।’
उपचारमा आएका चिकित्सकहरुलाई क्लब, रेडक्रस लगायतले सम्मान समेत गरेका थिए । शिविरको व्यवस्थापकीय काममा स्थानीय कमलकुमार जिसी सहितको टोलीले पनि साथ दिएको व्यवस्थापनका अर्का सदस्य श्रीजय श्रेष्ठले जानकारी दिए । श्रेष्ठले आफ्नै व्यक्तिगत लगानी गरेर बिरामीलाई ल्याउने लैजाने गाडिको व्यवस्थापन समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->