बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मानव सेवा आश्रमलाई खौलालाँकुरी पोखरा सम्पर्क समाजको औषधी सहयोग

मानव सेवा आश्रमलाई खौलालाँकुरी पोखरा सम्पर्क समाजको औषधी सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

पोखरा/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको संस्था खौलालाँकुरी पोखरा सम्पर्क समाज, पोखराले मानव सेवा आश्रम कास्कीलाई औषधी सहयोग गरेको छ ।

समाजले शनिवार छोरेपाटनस्थित आश्रममा पुगेर २ लाख रुपैयाँ भन्दा बढीको औषधी आश्रम कास्कीका संयोजक सदिश पुनलाई हस्तान्तरण गरेको हो । समाजले आफ्नो जन्मथलो खौलालाँकुरीमा यही पुस ६ गतेका दिन एकदिने बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरका लागि विभिन्न दाताहरुले २० कार्टुन अर्थात करीव ५ लाख मूल्य बराबरको औषधी सहयोग गरेका थिए । जनरल फिजिसियन, कार्डियोलोजी, हाडजोर्नी तथा नशारोग र स्त्रीरोग विशेषज्ञ सेवा उपलब्ध गराइएको शिविरमा ३ सय १ जनाले स्वास्थ्य परीक्षण गराएका र उनीहरुलाई ११ कार्टुन औषधी वितरण गरिएको थियो । शिविरमा बचत भएको ९ कार्टुन औषधी मानव सेवा आश्रमलाई उपलब्ध गराइएको समाजका अध्यक्ष पिताम्बर पौडेलले बताए । बालबालिका, सुगर, प्रेसरलगायत एन्डिबायोटिक औषधी हस्तान्तरण गरिएको हो ।

आश्रममा आयोजित कार्यक्रममा अध्यक्ष पौडेलले उक्त औषधी हस्तान्तरण गर्दै सम्पर्क समाज समाज सेवामा समर्पित रहदैँ आएको बताए । समाज र आश्रमबीच आजैका दिनबाट सम्बन्ध सुरु भएको भन्दै अध्यक्ष पौडेलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । समाजका बरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्माले संस्थाको परिचय गराउँदै आश्रमले मानविय सेवामा समर्पित भएर गरेको कामको प्रशंशा गरे । साथै उनले औषधीको सही सदुपयोग हुने विश्वास लिए । समाजका पूर्वसल्लाहकार खड्कबहादुर पौडेल क्षेत्रीले मानव सेवानै सबैभन्दा ठूलो धर्म भएको भन्दै आश्रमले गरेको सेवाबाट आफु प्रभावित भएको सुनाए । कार्यक्रममा समाजका सचिव प्रेम सुवेदी पनि थिए । आश्रमका संयोजक सदिश पुनले औषधी सहयोग गरेकोमा सम्पर्क समाजलाई धन्यवाद दिए । उनले आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकमा आश्रित मानवहरुको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाको काम गरिरहेका बताए । औषधी आश्रममा आश्रितहरुका लागि प्रयोग हुने उनले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->