बागलुङ/मिर्मिरे कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले साधारणसभाको उद्घाटन गर्दै सबै शेयर सदस्यले कृषिमा लगानी गरेको नमूना अबस्था रहेको बताए । उनले शेयर सदस्यहरु आँफै किसान रहेकोले अन्य भन्दा फरक रहेको भन्दै किसानले चलाएको सहकारी कहिले पनि नडुब्ने पनि बताए ।
उनले किसानलाई आवस्यक पर्ने प्राविधिक सल्लाह तथा सहयोग गर्न कार्यालय सधै तत्पर रहेको पनि बताए । साथै किसानको उत्पादनलाई बजारीकरणमा पनि साथ दिने बताएका थिए । हाल यो सहकारीका अधिकांस शेयर सदस्यहरु कृषि पेशामा आबद्ध छन् । उनीहरुले तेल पिसानी, धान कुट्ने मेसिन समेत राखेका छन् । त्यस बाहेक हरेक किसानले उत्पादन गरेको तरकारी बजारमा पठाउने गरिन्छ । मिर्मिरे कृषि सहकारी मार्फत उत्पादनमा जोड दिएपछि बागलुङ नगरपालिका वडा नंं ३ को गौडाकोटलाई नयाँ कृषि सहकारी गाउँ समेत नामाकरण भएको छ ।
सहकारीका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षता, सचिव थानेश्वर सुवेदीको संचालन र उपाध्यक्ष टेकबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, सहकारी बैंकका पूर्व संचालक रामबहादुर जिसी, सल्लाहकार लक्ष्मी बास्कोटा, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
सहकारीले सचिव थानेश्वर सुवेदीको प्रगती प्रतिवेदन र कोषाध्यक्ष पदमबहादुर क्षेत्रीको आर्थिक प्रतिवेदन पारित गरेको थियो । सहकारीले हाल ८४ लाख १३ हजारको कारोवार गरेको बताइएको छ । अधिकांस शेयर सदस्यले कृषि उपज उत्पादनमा लगाएकोले सहकारीमा ठूलो बचत रकम भन्दा उत्पादनमा जोड दिइएको बताइएको छ ।





