बागलुङ/संसारकै दोश्रो अग्लो बञ्जीजम्पमा १ हजार २ सय मीटर लामो ‘मेगा ट्रेल’ बन्ने भएको छ । जिपलाइन जस्तै भएपनि यो फरक प्रकारको साहसिक खेल हो ।
बागलुङ नगरपालिका वडा नं. १४ बलेवादेखि पर्वत सदरमुकाम कुश्माको बडागाउँसम्म यो ट्रेल बन्ने भएको हो । यो ट्रेलका लागि धमाधम काम भैरहेको छ । अब बन्ने ट्रेल बञ्जी संचालन गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले अहिले सम्मकै साहसिक र नौलो खेल हुने बताएका छन् । यो ट्रेल बनिसक्दा यहाँ ३५ करोड बढी लगानी हुने बताइएको छ ।
भोटेकोशीमा ८ वर्ष काम गरेको अनुभव, फ्रान्समा बसेर ३ वर्षसम्म कमाएको पैसा र स्थानीय व्यवसायीको साथबाट यो बञ्जीमा ललगानी गरेका कार्कीले स्थानीयको साथमा धमाधम लगानी र नयाँ विधि भित्राइरहेका हुन् । नेपालमै साहसिक खेलमार्फत पर्यटक भित्राउन पटक पटक लगानी गरेको कार्कीले बताए ।
यतिठूलो लगानीमा बञ्जी लगायतका पूर्वाधार बनाउने सोचलाई धेरैले पत्याएका थिएनन् । कार्कीले यो कामको अगुवाई गरेपछि स्थानीय व्यवसायीले पनि साथ दिएपछि हरेक वर्ष नयाँ र साहसिक खेलहरु थपिने क्रम बढेको हो ।
दैनिक सयौं मानिस घुम्न आइपुग्ने द क्लिफमा मेगा ट्रेलले थप पर्यटक आर्कषण गर्ने आस गरिएको छ । द क्लिफ अहिले साझेदारीमा संचालन भैसकेको छ । अध्यक्ष राजु कार्की छन् भने संचालकमा स्थानीय युवराज जोशी, नेत्र पराजुली, नवराज शर्मा, राजन जोशी र प्रकाश प्रधान छन् । ५० जनाले यहाँ सानो सानो लगानी जोडेका छन् । १ सय ११ जना रोजगार छन् ।
बागलुङको बलेवादेखि पर्वतको कुश्मा जोड्ने बन्जीजम्प मात्रै बनाउने उनीहरुको सपना अहिले एकदर्जन साहसिक खेलमा परिणत भएको छ । पानीको सतहदेखि २ सय २८ मीटर अग्लो र ५ सय २० मीटर लम्बाइको बञ्जीपुल नेपालको लागि भने नमूना योजना हो । ‘यो जिपलाइन जस्तै हो तर फरक स्वादको साहसिक खेल हुनेछ’ द क्लिफका प्रमुक कार्यकारी अधिकृत इश्वरध्वज कार्कीले भने, ‘यहाँ छिरेपछि एक दर्जन खेल खेल्न पाइन्छ ।’ मुख्य पुलमा बञ्जी र स्विङको मज्जा लिनेहरु आउँछन् । बञ्जीमा अभ्यस्त हुनकालागि अन्य साहसिक खेलहरु बलेवातर्फ संचालनमा छन् ।
बलेवास्थित हवाई मैदान र कालीगण्डकी करिडोरको छेवैमा रहेकोले बञ्जी आउन अझै सहज बनेको बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । द क्लिफले खोल्दै गरेको मेगा ट्रेलले बागलुङ र पर्वतको पर्यटनमा थप योगदान पुग्ने उनको भनाइ छ । यो अभियानले बलेवास्थित हवाइ मैदान संचालनमा थप बल पुग्ने उनले बताए । मुक्तिनाथ पुगेका पर्यटकको त फर्केर बस्ने वा घुम्ने गन्तव्य नै बञ्जी बनेको छ । पोखरा र अन्तपूर्ण संरक्षण क्षेत्रमा आउने विदेशी पर्यटकलाई पनि केही दिनका लागि दिन यहाँ भित्र्याउने लक्ष्य छ ।





