बागलुङ/विभेद बिरुद्धका अगुवा भगत सर्वजित विश्वकर्माको सम्झनामा निर्मित प्रतिष्ठानको भवन अलत्रप परेको छ । भवन मात्र हैन, यहाँ निर्माण गर्ने भनिएका सबै संरचना र योजना समेत अलपत्र छन् ।
सदरमुकाम बागलुङबाट डेढ घण्टाको यात्रोपछि पुगिने कालीमाटीस्थित गैह्रा गाउँमा निर्माणाधिन भवन, प्रतिष्ठान र अन्य योजना अलपत्र परेका हुन् । योजना मात्र हैन, निर्माण भैसकेको भवन समेत संरक्षण अभावमा जीर्ण भएको छ । गैह्रागाउँस्थित दर्जनबढी बस्न छाडेका घर समेत जिर्ण छन् । प्रतिष्ठानको लागि निर्माणाधिन भवन त झन् झारले घेरिएर फोहोर देखिन्छ ।
विश्वकर्माको छोराको निधन भैसकेकोले यहाँ पुख्र्यौली कोही पनि बस्दैनन् । तर छिमेकीहरु समेत बसाइ सर्न थालेपछि संरक्षण गर्नेहरु नभएका हुन् । संरक्षणको जिम्मा लिएर सरकारी बजेट परिचालन गरेको प्रतिष्ठानको समिति निस्कृय बनेपछि निर्माणाधिन संरचना अलपत्र परेको हो । सामाजिक अगुवाहरुले भगतको घर संरक्षण गर्ने, संग्राहलय बनाउने तथा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान संचालन गर्न केही वर्ष अघि गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट रकम लगेका थिए ।
६ वर्षअघि बनाइएको प्रतिष्ठानको घर अहिले झारैझारले छोपिएको छ । तत्कालिन प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले उक्त भवन शिलान्यास गरेका थिए । झण्डै २० लाख रुपैयाँ खर्चेर बनाइएको भवन अहिले अलपत्र परिसकेको हो । यहाँ बनाइने भनिएको संग्राहलयको लक्ष्य पनि तुहिएको छ । भगत सर्वजित विश्वकर्माको अर्धकदको मुर्ति बनाउने योजना अलपत्र भएको स्थानीय हर्कमान बिकले बताए ।
विश्वकर्माको नाउँमा गठन भएको प्रतिष्ठानका पदाधिकारी नै राजधानीमा बस्न थालेपछि योजना अलपत्र भएको हो । सदरमुकामदेखि यहाँसम्म पुग्ने सडक समेत स्तरीय बन्दैछ । नजिकै विद्यालय, स्वास्थ्य चौकी समेत छ । तर सिंगो गैह्रागाउँबासी बसाइ सरेर कोही सदरमुकाम त कोही राजधानी गैसकेकोले यहाँ संचालित योजनाका लागि काम गरिदिने समेत कोही नभएका हुन् ।
प्रतिष्ठानका अध्यक्ष रामकृष्ण सुनार, बरिष्ठ उपाध्यक्ष होमबहादुर सुनार, उपाध्यक्ष लाबहादुर सुनार काठमाण्डौं छन् । सचिव परशुराम सुनार सदरमुकाममा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । अन्य पदाधिकारी र सदस्य पनि पेशा व्यवसायमै छन् । तर कोही फर्केर गाउँ नगएपछि कतिपय काम अलपत्र परेका हुन् भने गर्नुपर्ने काम शुरुनै नभएका हुन् । प्रतिष्ठानलाई आफ्नै घरमा राख्ने, संग्राहलय बनाउने, भगतको मुर्ति कुँद्ने र पर्यटकीय गन्तव्य बनाउने लक्ष्य आफ््नै कारणले तुहिएको सचिव परशुराम सुनारले बताए । पछिल्लो समय माइन्युट समेत अध्यक्षले काठमाण्डौं लगेपछि बैठक बस्ने तथा अन्य श्रोत साधनको खोजी गर्न बैठक र भेला बोलाउन पनि नसकिएको सुनारले गुनासो गरे ।
शिक्षाको थालनी गरेर जागरण ल्याउने व्यक्ति सिंगो गाउँको गुरु भएको स्थानीय शिक्षक पशुपति शर्माको भनाइ छ । विश्वकर्माकै नाउँको प्रतिष्ठान र योजना अलपत्र पर्नु दुखद भएको शर्माले टिप्पणी गरे । प्रतिष्ठानको योजना अलपत्र परेको बारे बरिष्ठ उपाध्यक्ष होमबहादुर विश्वकर्माले राजधानीबाट गाउँ जान नपाएर काम रोकिएको बताएका छन् ।





