बागलुङ-भुकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पुर्व तयारीका साथ भन्ने नाराका साथ २७ औं राष्ट्रिय भूकम्प दिवश मनाइएको छ ।
दिवशको अबसरमा अन्तरक्रिया, भुकम्पबाट बच्ने उपायाबारे प्रस्तुतीकरण र सुरक्षित संरचनाबारे छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय र सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सशष्त्र प्रहरी बल, आश्रित गुल्मका गुल्मपति दिलबहादुर रायमाझीले बिपत जोखिम न्युनिकरणमा खेल्नुपर्ने भूमिका र सशष्त्र प्रहरीको काम बारे प्रस्तुती गरेका थिए । उनले भूकम्पको बेला कसरी सुरक्षित हुने, भुकम्पछि भत्कने संरचनाबाट कसरी बच्ने र सुरक्षित उद्दारको वर्तमान क्षमताबारे जानकारी गराएका थिए । नेपालमा सेना, सशष्त्र र जनपथ प्रहरीमा तालिम प्राप्त उद्दारकर्ता भएकोले बिपत आउनासाथ परिचालन हुने बताए । कतिपय स्थनमा भएका अन्य बिपतमा खवर गरेपछि मात्र पुग्ने गरेको उनको धारणा थियो ।
२०७२ सालको भूकम्पले सिकाएको पाठबाट सुरक्षा निकायले उद्दार टोली गठन गरेर जतिबेला पनि तयारी अबस्थामा राख्ने गरेको उनले जानकारी दिए । साथै बिद्यालय, अस्पताल र सार्वजनिक स्थानमा खुला चउर तथा सुरक्षित स्थलको व्यवस्थापन गरेर धेरै घटनाबाट बचाउन सकिने उनको सुझाव थियो ।
कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महर्जनले सुरक्षित आवास निर्माणमा नेपाल सरकारले ल्याएको कार्यक्रम सही ढंगले पालना गर्दा ठूला जोखिमबाट बच्न सकिने बताए । उनले त्यसकालागि तोकिएका मापदण्डका घर बनाउनुपर्ने धारणा राखे ।सरकारले ल्याएको आचारसंहिता, भवन निर्माणका डिजाइन र मापदण्ड बारे प्रस्तुती गर्दै उनले त्यसकालागि स्थानीय सरकारले आफ्नो बिज्ञता र स्थानीय जनताको क्षमता अनुसारका घर बनाउन साथ दिनुपर्ने बताए ।
‘पिलर उठाएको घर भन्दैमा सबै सुरक्षित होइनन्, त्यसैले परंपरागत घर पनि मिलाएर बनाउन सकियो भने धेरै सुरक्षित हुनेछ’ महर्जनले भने, ‘सरकारले ल्याएका डिजाइन र मापदण्डमा घर बनाएर हामी सुरक्षित बनौ ।’ भारतीय र चीनीया प्लेटको टकराबले नेपालमा कुनैपनि बेला ठूलो भूकम्प आउने खतरा रहेकोले सुरक्षित रुपमा बस्नुपर्ने उनले सुझाए । साथै जोखिम न्युनिकरणकालागि बिद्यालयको शैक्षिक सामाग्री देखि सबैखाले क्रियाकलापमा नागरिकहरु अभ्यस्त हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भूकम्प बाजा बजाएर नआउने भएकोले सदैव सचेत बनेर उचित संरचना निर्माणमा लाग्न प्राविधिकहरुलाई निर्देशन समेत दिएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, जिल्ला प्रहरीका उपरिक्षक ऋषिराम कंडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बिद्यार्थी, शिक्षक, पेशागत क्षेत्रका मानिस र स्थानीय अगुवाको सहभागिता थियो । उनीहरुले प्राविधिक जिज्ञाशा समेत राखेका थिए ।





