शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

‘अवस्था परिवर्तन भएन भन्नेहरुले आँखा देख्दैनन् कि कान सुन्दैनन् ’

‘अवस्था परिवर्तन भएन भन्नेहरुले आँखा देख्दैनन् कि कान सुन्दैनन् ’


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८१, शुक्रबार

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन भएन भन्नेहरु कान नसुन्ने र आँखा नदेख्ने भएको टिप्पणी गरेका छन्
‘कोही मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘उनीहरु आँखा देख्दैनन् कि कान सुन्दैनन् ? मलाई थाहा छैन ।’

पोखरामा चिकित्साशास्त्रको एमडी पढाइ हुनु तथा मृगौला प्रत्यारोपण हुनुलाई उनले अवस्था परिवर्तनको रुपमा अथ्र्याए ।
२००४ सालतिर नेपालमा दुई–चारवटा स्कूल मात्र रहेकोमा अहिले हजारौं, लाखौं विद्यार्थी अध्ययन गर्ने र जताततै स्वास्थ्य उपचार गर्नसक्ने जनशक्ति उत्पादन भएको बताउँदै उनले भने,‘योचाहिं के भएको हो ? पोखरामा मेडिकल इन्ष्टिच्यूट स्थापना हुनु र दुई ब्याच उत्तीर्ण भइसके । यो अवस्था परिवर्तन भएको होइन ?’
उनले नेपालको विकास सम्भव भएको र उठ्न नसक्ने कुनै कारण नरहेको पनि बताए ।‘ हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने,‘चीनले त्यत्रो जनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।’
प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको जिकिर पनि गरे ।

सो अवसरमा कुलपति ओलीले २०८०÷२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएस मा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित गराएका थिए । उनले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह अर्थोपेडिक्स र आषिश सापकोटा जनरल सर्जरीलाई उपकुलपति पदक वितरण गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरेका छन् । उनले देशको विकासको लागि आफूले विशेष ध्यान दिएको जिकिर पनि गरे ।

विश्वविद्यालयका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कछुवा गतिमा जनशक्ति उत्पादन भइरहेकोप्रति चिन्ता व्यक्त गरे । त्यसमापनि राज्य र परिवारले ठूलो लगानी गरेर उत्पादन गरेको जनशक्ति विदेशिनु झन् विडम्वना भएको उनको भनाइ थियो । हाम्रो उत्पादन विदेशिएको छ,उनले अगाडि भने,‘राज्य र परिवारले ठूलो लगानी गरेर उत्पादन गरेको जनशक्ति विदेशिनु राम्रो होईन । जनशक्ति उत्पादन हुने तर स्वदेशमा सेवा नगरी विदेशिनु विडम्वना हो ।’

कारोलिनस्का ईन्ष्टिच्यूट अफ स्कटहोम, स्वीडेनका प्राध्यापक माग्रुस वेस्ग्रेनले नेपालमा पछिल्लो क्रममा दक्ष जनशक्ति उत्पादन भइरहेको भन्दै खुसी जताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो दीक्षान्त समारोहमा ३८ जना दीक्षित भए । उनीहरुलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गराएका थिए । प्रतिष्ठानका उपकुलपती डुकबहादुर क्षेत्रीले ५० शैयाको आकस्मिक विभाग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->