नवलपुर/ नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले ‘पर्यटन, कृषि, उद्योग र व्यापारको उत्सवः समृद्ध नवलपुरका लागि आठौं महोत्सव’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस पटकको महोत्सवमा नवलपुरमा पहिलो पटक इफेल टावर, फिस टनेल, सुनामी झुला आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमा जनाइयो । त्यसैगरी विभिन्न जातजातिका कला प्रदर्शनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति, जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी तथा अवलोकन, एक पालिका एक कृषि प्रवर्धन अन्तर्गत कृषि प्रदर्शनी, शैक्षिक अनुसन्धानका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
त्यसैगरी नव प्रवर्धन कार्य प्रोत्साहन कार्यक्रम अन्तर्गत नवलपुर डान्स आइडल, श्रष्टा सम्मान तथा रचना वाचन लगायत कार्यक्रम रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव परिसरमा निःशुल्क आँखा परीक्षण शिविर सन्चालन गरिने र त्यहाँ फेला परेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाको पनि व्यवस्था गरिएको संघका महासचिव सागर पोख्रेलले बताए ।
यो पटक धुलोरहित र विगतका वर्षहरुभन्दा फरक हुने भन्दै संघले यसले समग्र नवलपुरको आर्थिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने दावी गरेको छ । महोत्सवलाई व्यवस्थित गर्न २३ वटा उपसमिति, सल्लाहकार समिति र अनुगमन समिति बनाइएको महासचिव पोख्रेलले जनाए । महोत्सवमा ५ करोड रुपैयाँको कारोवार हुने लक्ष्य लिएको संघले महोत्सवमा ७५ लाख आम्दानी गर्ने र २५ लाख बचत हुने अनुमान गरेको छ । ८० हजारले प्रत्यक्ष तथा करिब ५ लाखले महोत्सवको अप्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सव कावासोती–१६ को अङ्कुर आदर्श सामुदायिक वन परिसरमा सञ्चालन हुनेछ ।





