पोखरा/ नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन गरेको छ ।
त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको छ । नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षाबारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान संचालन भैरहेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । अभियानका लागि पोखरा ३३ को प्रतिनिधि समेत रहेका सिग्देलले जनताको आशा, विश्वास, भरोसा र आवश्यकतालाई शिरमा राखेर अघि बढ्ने उल्लेख गरे ।
अभियानका क्रममा प्रतिनिधि नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ (क) का सचिव प्रकाशचन्द्र सापकोटा र पोखरा महानगरपालिका वडा नं ३३ का सभापति तिलक अधिकारीले अभियानबारे जानकारी दिएका थिए । कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक रुपेन्द्र प्रभावीले विविध विषयबारे पार्टीको ध्यानाकर्षण गराए ।





