सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थानीय तहको ‘कृषि एम्बुलेन्स’ मोह

स्थानीय तहको ‘कृषि एम्बुलेन्स’ मोह


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८१, शनिबार

बागलुङ/किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पु¥याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी थालेको छ । नेपाल सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी भएको हो ।
‘कृषि एम्बुलेन्स’ सञ्चालनका लागि आवश्यक गाडि खरिदको प्रकृया अन्तिम चरणमा रहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयको २५ लाख रुपैयाँ अनुदान र जैमिनी नगरपालिकाको २५ लाख लगानीमा ‘कृषि एम्बुलेन्स’ खरिद थालिएको हो ।
स्थानीय बजार साघुँरो रहेको र ठुलो बजारसम्म कृषिजन्य उत्पाद पुर्याउन किसान आफैलाई ढुवानीमा कठिन हुने भएकाले नगरले ‘कृषि एम्बुलेन्स’ सञ्चालनको अबधारणा ल्याएको हो । नगरको योजनालाई नेपाल सरकारले महत्व दिएरै साझेदारी गरेको कृषि तथा पशुपंक्षी बिकास मन्त्री रामनाथ अधिकारीले बताए । देशभरका इच्छुक स्थानीय तहसँग साझेदारी गरेर किसानलाई हित हुनेगरी ‘कृषि एम्बुलेन्स’ सञ्चालनको योजना बनाईने उनले बताए ।
पालिकाभरबाट उत्पादित तरकारी, अदुवा, बेसार, फलफुल, रैथानेबाली, माछा, मह, मासु, दही, छुर्पीलगायतका उत्पादन एम्बुलेन्सबाट संकलन गरी बजार पु¥याउने नगरको लक्ष रहेको शर्मा बताउछन् ।
‘समुह वा फर्ममा आबद्ध किसानले उत्पादन गरेका फसलहरु बजारसम्म लैजाने काम कृषि एम्बुलेन्सले गर्छ’ शर्मा भन्छन् ‘सञ्चालन बिधि तयार गरेर किसानलाई फाइदा पुग्नेगरी नगरभरी एम्बुलेन्स परिचालन हुनेछ ।’ नगरले एम्बुलेन्स सञ्चालनसँगै किसानलाई उत्पादन बढाउनका लागि पनि प्रोत्साहन गर्ने योजना बनाएको छ । बजारको अभावमा किसानको उत्पादन खेरजान नदिने र किसानलाई व्यवसायीक बनाउनका लागि नगरले एम्बुलेन्सको योजना ल्याएको शर्माले बताए ।
यता बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा ‘कृषि एम्बुलेन्स’ सञ्चालनको घोषणा गरेको छ । किसानका उत्पादन बढाउने, बाझो जग्गाको उपयोग गर्ने नीति अनुसार ‘कृषि एम्बुलेन्स’ सञ्चालनको घोषणा गरेको नगरले प्रकृया भने थालेको छैन् । ‘हामि नेपाल सरकारको कार्यक्रम पर्खिरहेका छौं, अहिलेनै हाम्रो बजेटले मात्रै एम्बुलेन्स सञ्चालन सम्भव छैन्’ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘हामी पहिले तरकारी मण्डी सञ्चालनको तयारीमा छौं, त्यसपछि मात्रै किसानको तरकारी उठाउने एम्बुन्स ल्याउँछौं ।’ नगरपालिकाले मण्डी सञ्चालनका लागि वडा नं. ४ को उपल्लाचौरमा जग्गा भाडामा लिईसकेको छ । थप बजार क्षेत्रमा जग्गाको व्यवस्थापनको तयारीमै रहेको श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->