
बागलुङ/नेपालमा हरेक वर्ष महिलाको पाठेघर मुखको क्यान्सर बढ्दो छ । सन् २०२२ को तथ्यांकमा पनि २ हजार १ सय ७९ जना क्यान्सर पीडित भएकोमा १ हजार ३ सय १३ जनाको मृत्यु भएको थियो । दैनिक ४ जना महिलाले पाठेघरको क्यान्सरबिरुद्द लड्दालड्दै ज्यान गुमाउने गरेको तथ्यांक छ ।
यो संख्यालाई ९० प्रतिशत सम्म घटाउने लक्ष्यले नेपाल सरकारले पाठेघरको क्यान्सरबिरुद्ध एचपीभी खोप अभियान संचालन गर्ने भएको छ । बागलुङमा पनि माघ २२ गतेदेखि फागुन ३ गतेसम्म यो अभियान संचालन हुने भएको हो । बागलुङका ११ हजार ५ सय ५५ किशोरीलाई उक्त अवधिमा एचपीभी (ह्युमन प्यारापिलोमा भाइरस) खोप दिइने भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ ।
बिद्यालय तहमा कक्षा ६ देखि १० सम्म पढ्ने १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किसोरी र विद्यालय नगएका किसोरी समेतलाई यो खोप दिन लागिएको हो । डरलाग्दो मृत्युको तथ्यांकलाई न्युनिकरण गर्न यो अभियान संचालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
नेपाल सरकारले यो बर्ष १६ लाख किसोरीलाई यो खोप लगाउन लागेको हो । जस अनुसार बागलुङमा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म दुइ चरणमा खोप लगाइने छ । यो खोप लगाएपछि किसोरीहरुमा क्यान्सर बिरुद्दको ‘एन्टीबडी’ निर्माण हुने र पाठेघरको क्यान्सरबाट बचाउन सकिने कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । ‘यो खोपबाट हाल नेपालमा भैरहेको पाठेघरको क्यान्सरको समस्या ९० प्रतिशत कम हुनेछ’ उनले भने, ‘नागरिकको बाँच्न पाउने अधिकार सुरक्षा र कम खर्चमा रोग लाग्नै नदिने उपायाको रुपमा खोप ल्याइएको हो ।’ नीजि क्षेत्रले यो खोप प्रति भायल १५ हजार देखि १८ हजार रुपैयाँ सम्ममा बिक्री गर्ने गरेपनि सरकारले निशुल्क लगाउन लागेको उनले बताए ।
बागलुङको ३ सय १२ वटा विद्यालयलाई खोप केन्द्र बनाएर ३ सय १५ जना स्वास्थ्यकर्मी, ६ सय २७ जना स्वयंसेवक खटाएर खोप लगाइने छ । बालबालिकालाई लगाउने खोपभन्दा किसोरी समूहमा लगाउने खोपले पर्ने मनोबैज्ञानिक असर न्युनिकरणका लागि काउन्सिलिङ समेत गराइने योजना बनाइएको छ । सन् २०१६ मा कास्की र चितवनमा पाइलट प्रोजेक्टको रुपमा संचालन गर्दा शतप्रतिशत प्रभावकारिता देखिएपछि गत आर्थिक वर्ष नेपाल सरकारले सातवटै प्रादेशिक अस्पतालबाट खोप सेवा संचालन गरेको थियो । चालु वर्ष भने बिद्यालय तहमै पुगेर खोप लगाउने योजना बनाएको खत्रीले जानकारी दिए ।
यो खोपलाई प्रभावकारी बनाउन धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीको नेतृत्वमा स्त्रीरोग बिशेषज्ञ डा. विजय ओझासहित जिल्ला खोप समन्वय समितिले अवान्चित घटना वा हल्लालाई व्यवस्थापन गर्ने (एईएफआई) टोली गठन भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । खोपलाई प्रभावकारी बनाउन संचारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई समेत अभिमूखीकरण गरेर आम नागरिकमा खोप बारे सकारात्मक धारणा ल्याउन समेत लगाइएको छ । यो अभियान सफल भएमा आगामी वर्षदेखि हरेक कक्षा ६ मा पढ्ने बालिकालाई मात्र यो खोप लगाए पुग्ने हुनेछ । यो अभियानमा बागलुङमा मात्रै ७७ लाख रुपैयाँ खर्च हुनेछ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेको संचालन र कार्यालय प्रमुख घनश्याम सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा सहभागिले उठाएका जिज्ञाशा बारे अस्पतालका चिकित्क, कार्यालयका प्रतिनिधि समेतले धारणा राखेका थिए ।





