
बागलुङ/उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले एमालेसँगको सहकार्य राष्ट्रिय आवस्यकता भएको बताएका छन् ।
कासरकारलाई स्थायीत्व दिएर देशको बिकासमा योगदानगर्न एमालेसँगको सहकार्य गरिएको उनको धारणा छ । कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेपनि सरकार गठन र स्थायी सरकारमार्फत देश विकास गर्ने जिम्मेवारी आएकोले राष्ट्रिय आवस्यकता पुरा गर्न गठबन्धनमा जानु परेको बताएका हुन् ।
नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै सिंहले देशलाई स्थायित्व दिने, अप्ठ्यारो पर्दा निकास दिने र शान्तिप्रकृयालाई निष्कर्षमा लैजाने जिम्मा पनि कांग्रेसको भएको बताए । निर्वाचनको एक बर्षमा तीनचारपटक सरकार फेरिने अबस्था आएपछि स्थायीत्वकालागि एमालेसँग सहकार्य गर्नु परेको उनले प्रष्ट्याए । उनले संकटको बेला पनि कांग्रेसको आवस्यकता हुने धारणा राखे । ‘जव जव राष्ट्रलाई संकट पर्छ, त्यतिबेला कांग्रेसले अगुवाई गर्नु पर्छ’ सिंहले भने, ‘राज्यलाई अगुवाई गर्ने कांग्रेस अब आँफै भित्र पनि चुस्त र सक्रिय बन्नुपर्छ ।’ दल भित्रका गुट उपगुट अन्त्य गर्ने र एक्लै निर्वाचनमा जाने पार्टी बनाउन पनि गुट अन्त्य चाहिएको बताए ।
लोकतन्त्रमा विधि र पद्दतीलाई प्रमुख मान्नुपर्ने उनले कार्यकर्तालाई सुझाए । ‘विधि र पद्दतीमा कांग्रेस चल्न सक्यो भने मात्र राज्य र अन्य दललाई पनि विधिको शासन बारे भन्न सकिन्छ’ उनले भने, ‘सरकारमा पनि हामी विधि र पद्दती बसाल्ने अभियानमा छौं ।’ समाज सुधार गर्नपनि पार्टी भित्रको लोकतन्त्र बलियो बन्नुपर्ने उनले बताए ।
देशभर संचालित योजनाहरुलाई व्यवस्थित रुपमा पुरा गर्ने र समयमा राज्यको सम्पत्तिको सदुपयोग गर्ने काममा समेत सरकारले चासो राखेको उनको धारणा थियो । ‘बजेट बनिसकेपछि यो सरकार बनेको हो, तर भएको नीति र बजेटलाई समन्वय गर्दैछौं’ उनले भने, ‘आफ्नै नीति र कार्यक्रम सहितको बजेट ल्याउँदा राज्यलाई सही निकास दिने लक्ष्य छ ।’ बागलुङमा नगरपालिकाले संचालन गरेका सहरी शासकीय सुधार परियोजनाले गरेको प्रगती विवरणले हौसिएका मन्त्री सिंहले अस्पताललाई व्यवस्थित बनाउने, मेडिकल कलेज खोल्ने जस्ता कामले रोजगार प्रवद्र्धन र नागरिकको स्वास्थ्य सुधार हुने भन्दै ती योजनामा संघिय सरकारको साथ रहने पनि बताए । बागलुङ नगरपालिकाले घोषणा गर्ने बालमैत्री स्थानीय शासनयुक्त स्थानीय पालिकाको घोषणा सभाकालागि सिंह बागलुङ आएका हुन् । नगरपालिकलो १४ वटै वडा घोषणा गरिसकेकोले बुधवार नगर घोषणा गर्ने तयारी गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टी भेटघाटमा राष्ट्रिय सभाका सदस्य तथा कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठ, केन्द्रीय सदस्य किरण पौडेल, पूर्व मन्त्री तथा पूर्व सभापति दिपेन्द्र थापा लगायतले बोलेका थिए । नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अघि नगरपालिकाले पनि मन्त्री सिंहलाई स्वागत गरेको थियो ।





