
बागलुङ/नेपालमा २५ औं र गण्डकी प्रदेशमा चौथो बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको रुपमा बागलुङ नगरपालिका घोषणा भएको छ । बुधवार नेपाल सरकारका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री नगर घोषणा गरे । साथै उनले बालमैत्री नगर अभियानको प्रतिवद्दतापत्रमा पनि हस्ताक्षर गरे ।
नेपाल सरकारले ल्याएको स्थानीय शासन कार्यन्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले तोकेका सबै सूचक पुरा गरेर जिल्ला समन्वय समिति तथा गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले समेत अनुगमन गरेर प्रतिवेदन दिएपछि मात्र बालमैत्री घोषणा गरिएको हो । घोषणामा सहभागि हुन नगरभित्रका हजारौं बालबालिका धौलागरि धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा उत्रेका थिए ।
बाजागाजा, भजनकृतन, झाँकी, राष्ट्रिय गीत संगीत र बालमैत्री अभियानका नारा समेत लगाएर बालबालिका कार्यक्रममा सहभागि थिए । उपप्रधानमन्त्री सिंहले बालमैत्री नगर अभियान घोषणाले अरु पालिका र नेपाल सरकारलाई समेत चुनौती थपेको बताए । बालमैत्री शासन युक्त नगरलाई निरन्तरता दिने र भौतिक बिकासमा बालमैत्री बनाउने गरी थप बिकासका योजना थप्न पनि सरकार सकारात्मक भएको समेत उनको भनाइ थियो । यो अभियानले नेपालले बाल अधिकारको क्षेत्रमा गरेको प्रगतीमा अर्को इटा थपिएको बताए ।





