सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दुरगामी योजनामा राज्यको लगानी छैन : पूर्वप्रधानमन्त्री नेपाल

दुरगामी योजनामा राज्यको लगानी छैन : पूर्वप्रधानमन्त्री नेपाल


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८१, बिहिबार

बागलुङ/नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुरगामी योजनामा राज्यको लगानी नभएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु स्तरीय बनाएर जनतालाई रोजगार बनाउनु पर्नेमा राज्यले भुक्तानी नदिने र कामलाई अड्काउने गरेको टिप्पणी गरे ।
नेता नेपालले राज्यलाई ऋण लाग्ने एयरपोर्ट बनाउनुभन्दा राजमार्ग स्तरीय बन्दा जनताले सेवा पाउने बताए । बागलुङ नगरपालिकामा बिहिबार आयोजित राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि समेतको अन्तरक्रियामा देशका लागि दिगो विकासका योजना बन्न नसक्नु दुखद भएको बताएका छन् । उनले चल्दै नचल्ने एयरपोर्टमा लगानी गर्ने सरकारले सडक यातायातमा लगानी नगर्दा राजमार्गहरु अप्ठ्यारा भएको बताए ।
‘राजमार्ग सहज भए जनताले सेवा पाउने हो, एयरपोर्ट बनाएर धनाड्यहरुलाई मात्र फाइदा हो’ नेपालले भने, ‘जनताको जीवतस्तर उकासेपछि एयरपोर्टहरु धेरै बनाउने हो, अहिले सडक र बाटोघाटो नै सुधार्नुपर्छ ।’ ग्रामीण जीवनलाई सहज बनाउन आफ्नो प्रधानमन्त्रीत्व कालमा हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोरहरुको काम थालेको उनले बताए ।
ग्रामीण क्षेत्रमा बन्दै गरेका संरचना र स्थानीय सरकारले थालेका काममा संघिय सरकारले लगानी नगरेकोले धेरै योजना अलपत्र परेको उनको टिप्पणी थियो । ‘आम जनताको लागि स्तरीय सडक र राजमार्ग बन्नु पर्ने हो, जहाज नआउने बिमानस्थलमा लगानी भएको छ’ उनले भने, ‘घाटाको व्यापार गर्न कोही व्यवसायी आउँदैन ।’ देशभित्रै रोजगार सिर्जना हुने काममा लगानी गर्न उनले राज्यको ध्यानाकर्षण गरे ।
नेता नेपालले एउटै छानोबाट सबैखाले सरकारी सेवा पाउने पूर्वाधार चाहिएको बताए । ‘जनतालाई अत्यावस्यक पर्ने कार्यालयहरु बनाउन चासो नगर्ने, काम नभएका कार्यालयमा आबास बनाएर सकिएका छन्’ उनले भने, ‘अत्यावस्यक सेवाका कार्यालय एकै ठाउँमा राखेर सेवा दिनुपर्छ ।’ राजधानीका सरकारी जग्गा र भवनको लेखाजोखा गर्ने, जिल्ला सदरमुकामका जग्गालाई पनि एकीकृत गरेर सेवालाई चुस्त बनाउनुपर्ने उनले धारणा राखे । उनले एक सय वर्षको सोचका साथ स्थानीय तहले योजना बनाउनुपर्ने भन्दै त्यसमा प्रदेश र संघिय सरकार जोडिनुपर्ने माग गरे ।
बागलुङका पुराना कम्युनिष्ट नेता तथा संविधानसभाका सदस्य रामजीप्रसाद शर्माको निधन भएकोले श्रद्दाञ्जली दिन आएका नेपालले बागलुङका राजनीतिक दलका नेता तथा बागलुङ नगरपालिकाका जनप्रतिनिधीबीच अन्तरक्रिया गरेका थिए । शर्माको मृगौला प्रत्यारोपण असफल भएर मंगलबार निधन भएको थियो । नेता शर्माको शवयात्रामा विभिन्न दलका नेता कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->