बागलुङ/रातो प्लेटका जिपले यात्रु ओसार्छन्, त्यो पनि ट्राफिक कार्यालय अघिल्तिर बाटै धेरै यात्री चढाउँछन् । तर, ट्राफिकले चासो राख्दैन या देखेको नदेखेझैँ गर्छ ।
त्यतिमात्र हैन, क्षमताभन्दा बढी यात्रु ओसार्ने, लाइसेन्स नभएका चालकले बजारभित्रै विभिन्न प्रकारका गाडि चलाएर हिँडीरहेका छन् । युवाहरुले रातको समयमा बाइक पड्काउँछन् । शान्त बनिसकेको सहरमा एकाएक हल्ला फैलिन्छ । बालबालिकाको त सातो उड्छ ।
लामो र छोटो दूरीका गाडिमा भाडाको कुनै दररेट छैन । जथाभावी असुल्ने भाडाले यात्रीहरु हैरान छन् । बजारभित्रै दिनभर सडक छेवैमा रोकेर राखेका हेवी तथा साना गाडिले सवारी आवागमन मात्र हैन, पैदल यात्रीलाई पनि सास्ती भएको छ । त्यसबारेमा ट्राफिकले चासो गर्दैन । बरु ड्युटीझँै कुनैबेला मात्र हटाएझै गर्छ ।
बजारमा जथाभावी रोक्ने र जताबाट पनि फकाउने तीन पांग्रे अटोले दुर्घटनाको जोखिम निम्त्याएका छन् । तीमध्ये धेरैको लाइसेन्स नै छैन । ट्राफिकका हाकिम फेरिँदा वान वे पनि बेलाबेला फेरिन्छ । यस्ता दर्जनौं जिज्ञाशा नवआगन्तुक ट्राफिक प्रहरी प्रमुख गंगाराम बिकलाई तेर्सिए । विद्यालयका बसलेसमेत लापरबाही गरेर क्षमताभन्दा बढी बालबालिका चढाउने, जथाभावी रोकेर सवारी जाम बनाउने गरेको समेत गुनासो छ । सरकारी सवारी साधनले व्यक्तिका सामानसमेत ओसार्छन्, सेतो प्लेट देखेपछि ट्राफिकले हेर्नै नपर्ने हो ?
यतिधेरै प्रश्न गर्ने सर्वसाधारण होइनन्, पत्रकार थिए । शनिवार बिहान बिकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागि हरेक पत्रकारको जिज्ञाशा र प्रश्न ट्राफिकलाई तेर्सिएका थिए । ती प्रश्न सोध्नका लागि मात्र थिएनन्, भोलिका दिनमा यस्ता प्रश्न सोध्न नपरोस् भनेर पनि हो भन्छन्, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अबिरल ।
जिल्ला ट्राफिक कार्यालयमा जनशक्ति कम छ । तर भएको जनशक्तीलाइपनि व्यवस्थापन गरेमा आएका गुनासाहरु समाधान हुन सक्छन् भन्छन्, थापा । पत्रकारहरुको जिज्ञाशा सुनेका बिकले यस अघि पनि धेरै समस्या समाधानका प्रयास भएकोले ती कामलाई निरन्तरता दिंदै थप समस्या समाधानमा काम थाल्ने बताए । उनले कतिपय काममा जिल्ला प्रहरीको सहकार्यमा पनि पुरा गर्ने बिकले प्रतिवद्धता जनाएका छन् ।
सदरमुकाममा त ट्राफिकको बाक्लो उपस्थिति छ । नेताहरुको सवारी देखि अन्य काममा पनि बजार क्षेत्रमा बढी जनशक्ती चाहिन्छ । तर ग्रामीण क्षेत्रमा ट्राफिकको उपस्थिति कमजोर भएको समेत टिप्पणी भएको छ । गलकोटमा, बुर्तिवाङ र निसीखोलासम्म भएका कतिपय घटनाको अभिलेखीकरण समेत नहुने गरेको टिप्पणी समेत भयो । मध्यपहाडी लोकमार्गको कारण जिल्ला भित्र १ सय ४० किमी भन्दा बढी राजमार्ग छ । अन्य शाखा सडकलाइ छाडेर पनि राजमार्गमै तीब्र गतिमा सवारी चलाउने, ट्राफिक नियम उलंघन गर्ने जस्ता कामले दुर्घटनाको जोखिम बढेको भन्दै ती बिषयमा ट्राफिक प्रहरी सचेत बन्नुपर्ने पत्रकारले सुझाव दिए सबै समस्या समाधानमा पहल गर्ने र जनशक्ती थप गरेर कतिपय समस्याको समाधान गर्ने समेत बिकले जानकारी दिए ।





