सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘सीपमा दक्ष नागरिकबाट देश निर्माण गर्न सकिन्छ’

‘सीपमा दक्ष नागरिकबाट देश निर्माण गर्न सकिन्छ’


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

बागलुङ/लग्जेम्बर्गका लागि नेपाली कन्सुलर श्रीराम लामिछानेले पढेलेखेका नागरिकभन्दा सीपमा दक्ष नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले बैदेशिक रोजगारीमा गएकाहरुले पनि सीप नसिके काम नपाएर पर्कनुपर्ने बताए ।
धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र डिआइआरडिसीले संचालन गरेको चौधौं व्याचको चार महिने सीप विकास तालिमको समापन र पन्ध्रौं व्याचको तालिम उद्घाटन गर्न बागलुङ आएका लामिछानेले विदेशमा पनि दक्ष कामदारको महत्व बढेको बताए । उनले सीपमा दक्ष नागरिक उत्पादन गर्न सकेमा देश निर्माण पनि गर्न सकिने बताए ।
लामिछानेले देशको आयात प्रतिस्थापन गर्दै आन्तरिक श्रोतमा सक्षम बनाउन समेत सीप विकास चाहिएको बताए । ‘लामो समय मैले विदेशमा बसेर काम गर्दा विश्व विद्यालयको प्रमाणपत्र भन्दा सीप भएकाहरु रोजगार भएको देखेको छु’ उनले भने, ‘हरेक युवा कुनै न कुनै सीपमा पोख्त भए विदेश जानै पर्दैन ।’ उनले विदेशमा जागिर खोज्न जानुभन्दा प्रशिक्षक भएर जान उनले युवालाई सुझाव समेत दिए ।
कार्यक्रममा विदेशका संस्थाहरुले दिने सहयोग र अनुदान पनि छोटो समयका लागि हुने भएकोले त्यो सहयोगलाई सदुपयोग गर्न सकेमा नेपालीहरु आत्मनिर्भर बन्न सक्ने उनले बताए । डिआइआरडिसीले दशर्कदेखि सीप विकासका लागि लग्जेम्बर्ग सरकारले साथ दिएको छ । सीप विकासअन्र्तगत सिलाई कटाइ, इलेक्ट्रीसियन, मेटलवर्क लगायतमा तालिम दिने गरिएको हो । सिलाईतर्फ पार्वती परियार र चन्द्रा थापा, इलेक्ट्रीसियनतर्फ मुकुन्द प्रसाद पौडेल र मेटल वर्कतर्फ दिनेश बिकले चार महिने तालिम चलाउने गरेका छन् ।
त्यस बाहेक छोटो तालिमको रुपमा झोला बुनाई, गुडिया र बुटिकका अन्य तालिम समेत संचालन गर्दै आएको डिआइआरडिसीका परियोजना व्यवस्थापक शालिकराम शर्माले जानकारी दिए । कार्यक्रममा नेपाल लग्जेम्बर्ग फ्रेन्डसिप एण्ड कल्चरल समाजका अध्यक्ष पूर्णमान शाक्यले पनि सीप सिकेर आत्मनिर्भर बन्न सक्नुपर्ने धारणा राखे । राज्यले रोजगारी दिन सक्ने अवस्था नभएकाले हरेक नागरिक समाजको आवस्यकता अनुसारको सीपमा लाग्नुपर्ने सुझाव दिए ।
डिआइआरडिसीका अध्यक्ष केवी राना मगरको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र सदस्य लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्य, तालिमकी प्रशिक्षक रविना श्रीष, प्रशिक्षार्थीह्रु कृतिका नेपाली, राजेन्द्र बोहोरा र कुमारी रानाले मन्तव्य राखेका थिए । उक्त अवसरमा चौर्धौ समूहका प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो ।
डिआइआरडिसीले लग्जेम्बर्ग सरकारको सहयोग जुटाएर आफ्नो तालिम भवन निर्माणको काम थालेको छ । उक्त अभियानको बारेमा पनि लामिछानेले संस्थाका पदाधिकारीसंग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->