बागलुङ/१८ वर्षकी किसोरीको शंकास्पद मृत्यु भएकोले दिइएको आत्महत्या दुरुत्साहन मुद्दाको जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गरेका छन् । काठेखोला गाउँपालिका ५ बिहुँकी १८ बर्षिय सोनिया परियारको मृत्यु शंकास्पद भएपछि उनकै साहेदार दिदीले जाहेरी दिंदा पनि प्रहरीले दर्ता नगरेको हो ।
म्याग्दीको मंगला गाउँपालिका वडा नंं ३ को बरंजाबाट तेह्र बर्षको उमेरमा भागी बिवाह गरेकी सोनियाको गत सोमबार मृत्यु भएको हो । उनलाई झुण्डीएको अबस्थामा भेटेको भन्दै परिवारका सदस्यले दावी गरेपनि राती ९ बजेको घटनामा बिहान ६ बजेमात्रै प्रहरीलाई खवर भएको र प्रहरी पुग्दा खाटमा सुताएको अबस्थामा शव भेटिएको थियो । १४ बर्षको उमेरमै उनी आमा बनेकी थिइन् । मृतक सोनियाका ४ बर्षका छोरा छन् । घटनाक्रमले मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले न्यायको खोजी गरेका छन् । मृतकका पति सन्तोष भनिने अगन्धर दर्जीले पटक पटक यातना दिएको, मानसिक र शारिरीक हिंसा समेत गरेकोले मृत्यु समेत शंकास्पद भएको मृतककी दिदी सममाया परियारले बताइन् ।
गत सोमबार राती साँढे ७ बजे मृतक सोनियाले दिदीसँग म्यासेजमा समेत यातना पाएको र बाँच्नै गाह्रो भएको समेत खवर गरेको उल्लेख छ । सोनियाका पति सन्तोष दुवइमा काम गर्न गएको बेला सासु खिकुमारी दर्जीले सोनिया बस्ने घर समेत जलाइदिएको सममायाले बताइन् । सोमबार पनि राती ९ बजे मृत्यु भएकोमा बिहान ६ बजेमात्रै प्रहरीमा खवर भएको सममायाले बताइन् । मृतकको घरदेखि प्रहरी चौकी बिहुँ २ सय मीटरको दुरीमा छ ।
उक्त घटनापछि जिल्ला प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा लिएर जाँदा दर्ता समेन नभएको सममायाले गुनासो गरिन् । ‘हामीले देख्दा पनि शरिरमा निल डाम समेत छन्, हत्या वा दुरुत्साहन भएको हुन सक्छ’ उनले भनिन्, ‘जाहेरी लिएर जा“दा उल्टै प्रहरीले हप्कीदप्की लगाएर थर्काए ।’ आजकल ढोकाको चुकुलमा पनि झुण्डीएर मरेका छन् भन्दै जवरजस्ती आत्महत्या गरेको कागजमा सही गराउन खोजिएको उनले गुनासो गरिन् ।
यसअघि पनि पटक पटक पति र सासुले कुटपिट गरेको र अभद्र व्यवहार गरिरहेकोले गत पुस २८ गते समेत उनी माइत गएकी थिइन् । माइतमा बस्न थालेपछि घरबाट पटक पटक खवर पठाएर अब त्यस्तो नगर्ने भन्दै बोलाएपछि माघ २ गते मात्रै सोनिया घर गएकी थिइन् । सोमबार पनि छिमेकी हजुरआमा नाता पर्नेको मृत्यु संस्कार सकेर फर्कंदा बाटोमा समेत पतिपत्निको झगडा भएको समेत स्थानीयले देखेकोले मृत्यु शंकास्पद भएको बताएका छन् ।
मृतकका बाबुआमा भने बिरामी छन् । अपरेशन गरेकोल उनीहरु छोरीको दाहसंस्कारमा समेत आउन नसकेपछि दिदीहरु आइपुगेका थिए । प्रहरीले हप्कीदप्की लगाएपछि मृतकका दिदी भिनाजु, मामा र माइजु समेतले न्यायको लागि कानून व्यवसायी, पत्रकार र अधिकारकर्मी गुहारेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर सोनियाको हत्या वा दुरुत्साहन भएको अनुसन्धान गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
प्रहरी उपरिक्षक ऋषिराम कंडेलले शुरुवातमा घटना सामान्य लागेको भन्दै सबैतिरको कुरा बुझ्दा केही गम्भिर देखिएको बताए । ‘कुरा गम्भिर होला जस्तै छ, अनुसन्धान थाल्दैछौं’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले पनि केही देखाउनेछ, त्यसपछि काम थाल्नेछौं ।’ मृतकले दिदीहरुलाइ पठाएका पटक पटकका म्यासेज र फोनका कुराकानीले पनि घटना शंकास्पद बनाएको सुझाव आएकोले अनुसन्धानको तयारी भएको उनले बताए । शुरुवातमा सामान्य मानेर चासो नदिएपनि घटनालाई त्यसै छाड्ने पक्षमा नरहेको कंडेलले बताए । उक्त घटनापछि पनि दर्जी परिवारका सदस्यले माइतीपक्षलाई डरधम्की देखाएको पीडितले गुनासो गरेका छन् ।





