बागलुङ/उच्च अदालत बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कानूनले तोके बमोजिम दर्ता प्रकृयामा अगाडि लैजान आदेश दिएको छ ।
संस्थाका सदस्य कुलराज शर्मा (हिमाल) सहित तीन जनाले जिल्ला जलश्रोत समिति, जिल्ला प्रशासन लगायतका १३ संस्थालाई बिपक्षी बनाइ दिएको निवेदन उपर प्रारम्भिक आदेश जारी गर्दै अदालते उक्त आदेश दिएको हो । साथै अदालतले संस्थालाई जलश्रोत समिति को निर्देशन पालना गर्न पनि आदेश दिएको हो ।
दुइ वा सो भन्दा बढी पालिकामा खानेपानीको श्रोत तथा उपभोक्ता भएको अबस्थामा उक्त संस्था नगरपालिकामा दर्ता हुन नपाउने कानूनी प्रावधान बिपरित संस्था दर्ता भएको, जलश्रोत समितिले दिएको निर्देशन पालना नभएको लगायत कारण देखाएर शर्मा सहितले माघ २३ गते उच्च अदालत बागलुङमा रिट निवेदन दिएका थिए । माघ २४ गते बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ र अधिवक्ता उमाशंकर सापकोटाको बहसपछि अदालतले उत्प्रेषण युक्त आदेश जारी गरेको हो ।
यो आदेशले नियामक निकायको आदेश पालना गर्न र नगरमा भएको दर्ता खारेज गर्न किन नमिल्ने हो १५ दिन भित्र लिखित जवाफ समेत दिन बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आदेश दिएको हो । यो आदेश पछि संस्थाले कानून बमोजिम आफ्नो दर्ता प्रकृया थाल्नुपर्ने बाध्यता आइपर्ने छ । हाल संघिय खानेपानी तथा ढल निकास कार्यालय मार्फत आयोजनाको निर्माण समेत भैरहेकोले उक्त संस्थालाईपनि उच्च सरकारी वलिको कार्यालय मार्फत जवाफ पेश गर्न आदेशमा भनिएको छ ।





