सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एफएनजे बागलुङमा पत्रकार लेखनवृत्ति कोष स्थापना

एफएनजे बागलुङमा पत्रकार लेखनवृत्ति कोष स्थापना


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङले पत्रकार लेखन वृत्ति कोष स्थापना गरेको छ । महासंघको हालै सम्पन्न अधिवेसनपछि आएको टिमको पहिलो निर्णय स्वरुप कोष स्थापना भएको हो ।
१० लाख रुपैयाँ कोष बनाएर हरेक बर्ष दुइ जना पत्रकारलाई कम्तिमा ५० हजार रुपैयाँको लेखनवृत्ति दिने लक्ष्यले कोष स्थापना गरिएको महासंघका अध्यक्ष राम थापा अबिरलले बताए ।
शनिवार आयोजित घोषणा सभामा ४ लाख रुपैयाँ संकलन भैसकेको कोषाध्यक्ष खेमराज गौतमले जानकारी दिए ।
पहिलो दिनमै देश बिदेशमा बस्ने स्थानीय र कतिपय पत्रकारले कोषमा सहयोग गरेका छन् ।१० लाख रुपैयाँ पुगेपछि सहयोग स्थगित गरेर लेखनवृत्ति कोष बनाइने लक्ष्य छ । त्यसका लागि महासंघले तत्काल कार्यविधि बनाएर विज्ञ सदस्यहरुबाट औपचारिक रुपमा शुरुवात गर्ने थापाले जानकारी दिए ।
कोष स्थापनाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख बिनाकुमारी थापाले आम नागरिकलाई सत्य सूचना प्रशारण गर्ने काममा पत्रकारहरु जिम्मेवार बन्नुपर्ने बताइन् । साथै उनले आम नागरिकको मनमा सकारात्मक उर्जा आउने गरी पत्रकारिता गर्नुपर्ने समेत बताइन् । ‘अहिले सामाजिक संजाल खोल्नपनि नसकिने अबस्था भैसकेको छ, त्यसैले सकारात्मक समाचारहरु संप्रेषणमा पनि ध्यान दिनुपर्छ’ उनले भनिन्, ‘कमल अब आशा जगाउने काममा चलाउने हो की ?’ पछिल्लो समय हरेक क्षेत्रमा विकृति बढेको र त्यसले नकारात्मक समस्या आइरहेकोले अब सकारात्मक काम थाल्न सबैलाई आग्रह समेत गरिन् । नेपाल पत्रकार महासंघ त्यसको अभिभावकत्व लिन तयार हुनुपर्ने समेत थापाको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोबिन्दबहादुर नेपाली, माओवादीकी प्रमुख सचेतक कुशुम बुढा, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी, कांग्रेस जिल्ला सदस्य महेन्द्र आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेल, महासंघका पूर्व अध्यक्ष रामबहादुर जिसी, महासंघकै म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर, प्रेस चौतारी नेपालका अध्यक्ष कमल पौडेल, प्रेस सेन्टरका सचिव बिनोद प्रतिक थापा, प्रगतशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा, पुरस्कृत पत्रकार रामकृष्ण बोहरा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । पुरस्कारको अवधारणा बारे उपाध्यक्ष सिर्जना पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->