बागलुङ/ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा टिकाधन क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघद्वारा आयोजित पुरस्कार प्रदान कार्यक्रममा शनिवार बोहोरालाई सम्मान गरियो । साथै १० हजार नगद पुरस्कार समेत दिइयो ।
गलकोट नगरपालिका वडा नंं ९ का पत्रकार मित्रलाल खरेकी आमा धनमायाले स्वर्गिय बाबु टिकारामको स्मृतिमा पुरस्कार कोष स्थापना गरेकी थिइन् । एक लाख रुपैयाको कोषबाट बोहोरालाई पुरस्कार दिइएको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले बताए ।
तीन बर्ष अघि स्थापित कोषबाट अहिलेसम्म दुइवटा पुरस्कार प्रदान भैसकेको छ । पहिलो पुरस्कार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीलाई प्रदान गरिसकिएको छ ।
शनिबारै आयोजित पुरस्कार समर्पण समारोहमा बिकास पौडेल स्मृति पत्रकारिता पुरस्कार महासंघका सहसचिव डम्बर बुढा मगरले पाएका छन् । महासंघका पूर्व सदस्य पौडेलको कोरोना संक्रमणका कारण २०७८ सालमा निधन भएको थियो । उनको स्मृतिमा परिवारका सदस्यले ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । कोषबाट पहिलो पटक यो पुरस्कार दिइएको हो ।
पुरस्कारकी संस्थापक धनमाया अहिले ९९ बर्षकी पुगेकी छिन् । बिरामी भएर चितवनमा उपचाररत छिन् । कान्छो छोरा मित्रलाल खरेलले उपचार र हेरचाह गरिरहेका छन् ।
छोरा मित्रलाल शिक्षण पेशाबाट निवृत्त भएपछि ग्रामीण क्षेत्रमा बसेर जिल्लाका पत्रपत्रिकामा समाचारदाताको रुपमा काम गर्थे । अहिले पनि उनी स्थानीय पत्रपत्रिका र एफएममा आंशिक कार्यरत छन् । उक्त कामबाट कमाइ नभएको, दुःख बढी भएको देखेपछि धनमायाले सामाजिक सुरक्षाभत्ता बुझेको रकम संकलन गरेर राखेकी थिइन् । सोही रकमबाट पुरस्कार स्थापना गरेको खरेलले बताए ।
‘पत्रकारिता गर्दाको समस्या बुझेर रिपोर्टीङ गर्नेलाई बाटो खर्च स्वरुप पुरस्कार दिने गरी यो कोष बनाउन आमाले आग्रह गर्नुभयो’ खरेलले भने, ‘अहिले यो कोषबाट दुइपटक पुरस्कार प्रदान गरिसकेका छौं ।’ पुरस्कार कोष स्थापनाको बेला सामाजिक सुरक्षा भत्ता बापत पाउने मासिक २ हजार रुपैयाँबाट २६ महिनाको रकम संकलन गरेपछि १ लाख रुपैयाँ पुगेको थियो ।






