बागलुङ/प्रजातन्त्र प्राप्ती पछिका विकासलाई संस्थागत गर्न नसक्दा राजनीतिक दलप्रति बितृष्णा बढाउने टिप्पणी भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले तुलनात्मक रुपमा प्रजात्नत्रले विकासलाई दुर दराजसम्म लगेको बताए । प्रजातन्त्र दिवश मुल समारोह समिति बागलुङले आयोजना गरेको ‘प्रजातन्त्रको उपलब्धी, बागलुङ जिल्लाको आर्थिक समृद्दि, संभावना र चुनौती’ विषयक अन्तरक्रियामा सहभागिले प्रजान्त्रमा विकास धेरै भएपनि सुशासनमा भने राजनीतिक नेतृत्व चुकेको सहभागीको भनाइ थियो ।
उनीहरुले आर्थिक विकास, मानव विकासका क्षेत्रमा काम कम भएको, भौतिक विकासमा बढी जोड दिंदा राज्यको आर्थिक भार बढेको समेत बताए । जिल्लामा भने एकीकृत विकास मोडल नबनेको र राजनीतिक पहुँच नहुँदा पछि परेको उनीहरुको निष्कर्ष छ । कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा कांग्रेस सचिव गण्डकी थापा अधिकारीले पालिका तहमा काम गर्न खोज्दा संघीय ऐन कानूनले रोकेको टिप्पणी गरिन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जेसुकै व्यवस्था भएपनि संघिय वा केन्द्रीकृत मानसिकता विकासको बाधक भएको बताइन् ।
उनले उत्तरगंगा जलविद्युत आयोजनादेखि ग्रामीण क्षेत्रका खानी संचालनमा संघिय ऐन बाधक बनेको, संघिय सरकारले ती ऐन निर्माणमा चासो नराखेको टिप्पणी गरिन् । ‘स्थानीय सरकारलाई माध्यामिक तहको शिक्षाको जिम्मा लगाएको छ, तर २०२८ सालको ऐन परिवर्तन भएको छैन’ उनले भनिन्, ‘काम गर्न धेरै लगाएको छ, तर कानूनले बाँधेको छ ।’ जिल्ला भित्रको विकासका लागि पनि राजनीतिक दलहरुले साझा एजेण्डा बनाएर जानुपर्ने खाँचो उनले औल्याइन् ।
एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले विकासमा पछि पर्नुमा राजनीतिक संकुचन रहेको बताए । साथै, उनले कर्मचारी तन्त्रमा रहेको भ्रष्ट मानसिकता विकासको प्रमुख बाधक रहेको पनि बताए । ‘अहिले पनि कर्मचारीले काम रोकेर घुस खाएको छ, अबैध गाडीबाट मासिक उठाएर प्रहरी मोटाएको छ, तर कानून बमोजिम कारवाही गर्दैन’ उनले भने, ‘भ्रष्टाचार गरेका केही नेता पनि होलान उनीहरुलाइ जेल हालौं, तर सयौं कर्मचारी भ्रष्ट मानसिकताबाट माथी उठ्नुपर्छ ।’ नयाँ कर्मचारीहरुमा काम गरौं भन्ने भावना रहेपनि पुरानाको चंगुलमा परेको उनले टिप्प्णी गरे ।
राजनीतिक नेताहरु पनि सुशासन दिन असफल रहेको भन्दै अब पुराना नेताले ठाउँ खाली नगरेसम्म प्रजातन्त्र, र शासन पद्दतीलाई दोष दिएर नहुने उनको धारणा छ । पछिल्लो समय राज्यको व्ययभार भने साह्रै महंगो बनेकोले बिकास खर्चनै नपुगेको भन्दै मन्दिर बनाएर पैसा सक्ने भन्दा जनजिविका र रोजगार बढाउने योजनामा लगानी गर्न सुझाए ।
कार्यक्रममा माओवादी केन्द्रका बागलुङ नगर अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, राजमो जिल्ला अध्यक्ष तिलक थापा, बिज्ञ तथा धौलागिरी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. डिल्लीराज गौतमले अझैपनि व्ययभार घटाउन स्थानीय सरकारको भार घटाउनुपर्ने धारणा राखे । उनले बागलुङमा चारवटा जलाधारक्षेत्रका चार पालिका मात्र राखे पनि पुग्ने बताए । त्यसले जिल्लाको बिकास मोडललाई सहज बनाउन सकिने बताए ।
मुल समारोह समितिका सदस्य तथा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’को संचालन र बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले बागलुङ बिकासको अवधारणा पत्र पेश गरेका थिए । उनले शिक्षाबाट सीप, सीपबाट बजार र बजारबाट आर्थिक समृद्दि ल्याउने गरी काम गर्नुपर्ने अवाधारणा पेश गरेका थिए । उनले उत्तरगंगा जलविद्युत आयोजना, कृषि र पशु उत्पादन बढाउने र धार्मिक तथा अन्य पर्यटक भित्राउने गरी अभियान चाल्नुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका पूर्व अध्यक्ष अमर थापा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, व्यवसायी अर्जुन चोखाल, ललिता थापा, रामकृष्ण शर्मा धनबहादुर परियार, यामबहादुर थापा लगायतले धारणा राखेका थिए । उक्त अन्तरक्रियाका बुधालाई लिपिबद्द गरेर जिल्ला बिकासको मुल अवधारणापत्र तयार पार्ने मुल समारोह समितिले तयारी गरेको छ । त्यसकालागि काजी गाउँले श्रेष्ठ, मिलन केसी, गणेश थापा, डिलकुमारी पुन र प्रकाश बराललाई जिम्मा समेत दिइएको अध्यक्ष केसीले जानकारी दिए ।





