बागलुङ/गत असोजमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क अझै पूर्ण रुपमा संचालनमा आउन सकेको छैन । ६ महिना बित्दापनि अझै पुरानै बसपार्कबाट बस छुट्छन् । एकदुइ वटा सवारी देखाउन दाबगरा बसपार्कमा लगिन्छन् । नियमित चल्ने अवस्था अझै भएको छैन ।
बसपार्क उद्घाटनकै भोलीपल्ट खाली भएको तस्बिरसहित चौतर्फी आलोचना भएपछि सोह्रौ नगर परिषदले बसपार्क व्यवस्थापन ऐन २०८१ ल्याएको छ । उक्त ऐनले दिर्घकालिन रुपमा बसपार्क भाडामा दिएर संचालन गर्न बाटो खुलेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठ दाबी गर्छन् । तर ऐन आएको पनि दुइ महिना पुगिसकेको छ । बसपार्क संचालन हुनेमा अझै शंका छ ।
अहिले पनि बसपार्क सुनसान छ । पुरानो चिप्लेटी बसपार्कमै बस राखिन्छन् । बरु सडकमा अव्यवस्थित पार्क गरेर पैदल यात्रुलाई समेत सास्ती पर्छ । तरपनि आधुनिक भनिएको बसपार्क चलाउन नगरले सकेको छैन । ऐनले बसपार्क चलाउने बाटो खुलेको भनिएपनि कसरी संचालन हुन्छ भन्ने कार्यक्रम अगाडि आएको छैन । ‘ऐनले बढीमा ३० वर्षसम्म बसपार्क भाडामा दिन बाटो खोलेको छ’ श्रेष्ठले भने, ‘ठेक्का लिनेले नै बसपार्क चलाउन सक्छन् ।’ ठेक्का लिनुपर्ने व्यवसायीहरु भने सडक छेवैमा पार्क गर्नेदेखि पुरानै स्थानबाट बस छ्ुटाउनमा व्यस्त छन् ।
गत आर्थिक वर्ष नै संचालन गर्ने लक्ष्य राखिएको कुकुर आवास बनाउने महत्वकांक्षी योजना बागलुङ नगरपालिकाले अझै शुरु गर्न सकेको छैन । जग्गा व्यवस्थापन, खर्च र विभिन्न क्षेत्रबाट आउने आलोचनाले नगरपालिकाले अझै काम गर्न नसकेको हो । सोह्रौ नगरसभामा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले योजना सम्झौताको चरणमा पुगेको दाबी गरेको पनि डेढ महिना भयो । उक्त योजना संचालन भएमा नगरभित्रका सबै सामुदायिक कुकुरलाई आबासमा राखिने छ । छाडा कुकुरले टोकेर धेरै मानिस घाइते भएकोले यो अवधारणा ल्याएपनि काम भने शुरु गर्न ढीला भएको हो । गत वर्ष त छाडा कुकुरले टोकेर धेरै मानिस घाइते भएपछि यो अवधारणा आएको थियो ।
फोहोरको व्यवस्थापन गर्ने र जिरो वेस्ट गर्ने अभियान पनि सोचे अनुसार अगाडि बढ्न सकेको छैन । अध्ययनबिनै ल्याइएको ढल निकास योजना त अलपत्रै भयो । डिपिआर मै त्रुटी भएपछि फिर्ता भएको योजना तीन बर्षदेखि अलपत्र छ । अहिले त नगरपालिकाले उक्त योजना स्थगित गरेको छ । ६ बर्ष अघि नै तत्कालिन नगरप्रमुख जनकराज पौडेलले अगाडि सारेको ढल निकास योजनाको डिपिआर नै त्रुटी भएपछि पटकपटकको संशोधन पनि असंभव भएको हो ।
पाँच वर्षअघि नै निर्माण भैसक्नुपर्ने बुर्तिवाङस्थित ढोरपाटन नगरपालिका १ को बसपार्क अझै अलपत्र छ । मध्यपहाडी लोकमार्गमा पर्ने १० नमूना सहर भित्र परेको बुर्तिवाङमा व्यवस्थित बसपार्क बनाउने जिम्मा पाएको नमूना सहरी आयोजनाले यो बसपार्क पुरा गर्न नसकेको हो । शुरुवातमा नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसकेको, पछि आइपर्ने विभिन्न बाधा व्यवधानले बसपार्क अझै अलपत्र छ । नगरको गौरवको योजनामा पनि यो बसपार्क सूचिकृत छ । तर अझै कहिले बनिसक्ने भन्ने अन्यौल छ । जनप्रतिनिधिहरुले पनि पछिल्लो समय योजनाकालागि पहल गर्न छाडेका छन् । आयोजनाले पनि बजेट अभाव भन्दै काम रोकेको छ । काम भैरहेकै खण्डमा स्थानीयले अतिक्रमण गरिसकेका छन् ।
पछिल्लो समय नगरपालिकाहरुले महत्वकांक्षी योजना अगाडि सारेर अलपत्र पार्ने क्रम बढेको छ । गलकोट नगरपालिकाले जिपपार्कपनि संचालनमा आउनै सकेको छैन । फोहोर व्यवस्थापन र चक्रपथ बनाउने योजना पनि सफल बनाउन सकेन । अहिले ती योजनाहरु क्रमागत योजनामा देखिनै छाडेका छन् । नगर गौरवका योजना भन्दै अघिल्लो कार्यकालमै अगाडि सारिएका योजनाहरु अलपत्र भएका हु्न् ।
त्यसबाहेक नगरपालिकाहरुले तीन वर्ष अघि भदौ र असोजभित्रै योजना सम्झौता सकेर काम गर्ने घोषणा गरे । पहिलो वर्ष बागलुङ, जैमिनी र गलकोटले चैत मसान्तभित्रै अधिकांस योजना सम्पन्न पनि गरे । कार्यक्रम मात्रै बैसाख र जेठमा गरेका थिए । तर गत वर्ष बिस्तारै ढीला गरेका नगरहरुले चालु वर्ष अझै योजना सम्झौता सकेका छैनन् । ‘ढीलाई हुनुमा कर्मचारी र जनप्रतिनिधिको दोष नभइ उपभोक्ता सचेत नहुनु हो’ बानपा १४ का अध्यक्ष तथा प्रवक्ता चक्रबहादुर खत्रीले भने, ‘नगदै सहभागिताले उपभोक्ता गठनमै ढीला भएको छ ।’ दररेटको समस्याले काम गर्न अलमल गरेका उपभोक्ताले योजना भने दर्ता गरेर बसेको उनले बताए ।





