बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्यकर्मीले आर्थिक शुसासन, जनताको सेवा र व्यक्तिगत आचरणमा ध्यान दिनुपर्ने बताएका छन् । पेशागत सुरक्षाका लागि स्वास्थ्यर्कीलाई संगठित हुने अधिकार रहेको भन्दै पाठकले पारदर्शिता, सेवा प्रवाह र आचारणमा भने कुनै पनि रंग देखिन नहुने बताए ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागलुङको चौथो अधिबेशनलाई शनिबार बागलुङमा सम्बोधन गर्दै मन्त्री पाठकले स्वास्थ्य क्षेत्रका कार्यक्रमले सडक कालोपत्रे गरेजस्तो तत्कालै परिणाम नदेखिने बताए । उनले आफूले पदभारग्रहण गर्दा घोषणा गरेका तीन प्रकृतिका कार्यक्रममध्ये अल्पकालीन ४० योजनाको विषयमा समिक्षा गर्ने बेला भएको बताए । ‘केही दिनमा नै मेरो कार्यकालको छ महिना पुग्दैछ, मैले घोषणा गरेका ४० वटा अल्पकालीन कार्यक्रमको समीक्षा गर्ने बेला भएको छ,’ पाठकले भने ‘काम सबै पूरा भएका छन् तर सडक कालोपत्र गरेजस्तो, कृषिमा अनुदान दिएजस्तो तत्कालै परिणाम देखिँदैन ।’
स्वास्थ्य क्षेत्रमा भएका काम कारवाही सेवाग्रहीले महसुस गर्ने बेला मात्रै परिणाम देखिने उनले बताए । उनले तीन तहका सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा गर्ने कार्यक्रममा एकरुपता आवश्यक रहेको औंल्याए । कार्यक्रममा स्थानीय सरकारका राजनीतिक पहुँचका आधारमा सरुवा, बढुवालगायतका काम हुने गरेकाले स्वास्थ्यकर्मीहरु खुलेर संगठनमा देखिन नसकेको गुनासो वक्ताहरुले गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य तेजप्रसाद न्युरे, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिव लक्ष्मण बस्यौला, केन्द्रीय सदस्यहरु नारायण प्रसाद पौडेल, तेज प्रसाद सुवेदी, एमाले निसीखोला अध्यक्ष भुमिराज घर्तीमगर लगायतले बोलेका थिए । महासंघका जिल्ला अध्यक्ष उमेश शरभुजाको अध्यक्षता, सचिव लक्ष्मण कार्कीको सञ्चालन र कोषध्यक्ष दीपिका शर्मा सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





