सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बसपार्क चल्यो, दाताले जग्गा पाएनन्

बसपार्क चल्यो, दाताले जग्गा पाएनन्

दावगह्राका मोहीहरु अहिले आफ्नै जमिन फिर्ता माग्नका लागि आन्दोलित हुनु परेको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

फाइल तस्बिर

बागलुङ/आफ्नै दैलोमा बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरकी फूलमाया जिसीले बर्षभरी खानपुग्ने धान फल्ने खेत निशुल्क उपलव्ध गराईन् । २०६५ सालमा बसपार्कका लागि जग्गा दिएकी फुलमायाँ बसपार्क बन्ने आशामा थिइन् । तर, बसपार्क निर्माणको काम सुरु नै नहुँदै उनले २०६८ सालमा संसार छाडिन् ।
जिसीले जग्गा दिएको १८ वर्ष पुरा भएको छ । बसपार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो नाममा रहेको जग्गा समितिको नाममा दिएको वर्षौं बित्यो । फूलमाया यो संसारमा नरहेपनि उनका छोराहरु अझैपनि उपयोग भएर बचेको जग्गा फिर्ता पाउने आशामा छन् । उनी जस्तै जग्गा दिनेको संख्या धेरै छ । उनीहरुको फिर्ता पाउने जमिनको लालपूर्जा कुर्दाकुर्दै वर्षौं बितेका छन् ।
बागलुङ बसपार्क बनेर छ महिना पहिला तामझामका साथ उद्घाटन भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कको उद्घाटनमात्रै गरेनन् । जग्गादाताले बचेको जग्गा फिर्ता गर्दा लाग्ने राजश्व मिनाहाको घोषणासमेत गरे । नगरपालिकाले बसपार्क यातायात व्यवसायीलाई ठेक्कामा लगाएर वार्षिक भाडा बुझ्न थालेको छ तर जग्गा दाताले भने आफ्नै जग्गा फिर्ता पाउने टुंगो छैन् ।
बसपार्क सञ्चालनमा आइसक्दा समेत आफ्नै जग्गा फिर्ता नपाएपछि जग्गादाता आन्दोलित भएका छन् । जग्गादातालाई न्याय गर्नुपर्ने, तत्काल जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग राखेर जग्गादाता आन्दोलित भएको फूलमायाका छोरा हरीबहादुर जिसीले बताए । वर्षौं बितिसक्दा समेत जग्गा फिर्ता नहुनु दुःखद भएको भन्दै जग्गा दाताले आफ्नो जग्गा नपाउँदासम्म बसपार्कमै अनसन बस्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उपल्लाचौरको दावगह्रामा जमिन रहेका ५१ जना मोहीले ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिलाई उपलव्ध गराएका थिए । २०६० सालदेखि २०७० सालको बीचमा ५१ जनाले जग्गा व्यवस्थापन समितिको नाममा उक्त जग्गा उपलव्ध गराएको लिखत छ । नगरपालिकाले सुरुमा बसपार्कका लागि १० रोपनी जमिन खोजेको थियो । बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन तयार गर्दासम्म १७.५ रोपनी जमिन बसपार्कका लागि आवश्यक देखियो । सोही अनुसारको जमिन समितिले बसपार्कलाई उपलब्ध गराएपछि बसपार्क बनेको हो । बाँकी जग्गामा सडक, खानेपानी, विद्युतलगायतका पूर्वाधार नगरपालिकाले बनाईदिएपछि जग्गा फिर्ता गर्ने सम्झौता रहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।
समितिले जग्गा फिर्ता गर्दा झण्डै ३ करोड राजश्व तिर्नुपर्छ । निःशुल्क जग्गा दिएका दातासँग जग्गा पास खर्च माग्न कठिन भएकाले राजश्व छुटका लागि फर्किँदा जग्गा फिर्तामा ढिलाई भएको उनले बताए । मुख्यमन्त्रीले घोषणा गरिसकेकाले नगरपालिकाले पहल गरेर तत्काल राजश्व छुटको निर्णय गराइनुपर्ने उनले बताए ।
दातालाई जग्गा फिर्ताका लागि समिति तयार हुँदाहुँदै राजश्व छुट, पूर्वाधार निर्माणलगायतका कामका कारण ढिलाइ भएको उनको भनाई छ । दातालाई फिर्तागर्ने जग्गामा सामान्य सडक बनाउन समेत समितिसँग बजेट नभएको र नगरपालिकाले बजेट नदिएकाले अफ्ठेरो परेको उनले बताए । बसपार्क बनाउनका लागि करोडौं मूल्य पर्ने जमिन निःशुल्क उपलव्ध गराएका बागलुङ नगरपालिका–४ उपल्लाचौर दावगह्राका मोहीहरु अहिले आफ्नै जमिन फिर्ता माग्नका लागि आन्दोलित हुनु परेको हो ।


नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जग्गादाताले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए । मुख्यमन्त्री आफैले घोषणा गरेको राजश्व छुटको विषयमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएकाले त्यतिबेलासम्म कुर्न आग्रह गर्दै उनले बाँकी जग्गा फिर्ताको काम समितिको भएको बताए ।
२०७१ साल पौष २२ गते जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाको बीच चार वर्ष भित्रमा बसपार्क बनाइसक्ने र बाँकी रहेको जमिन दाताहरुलाई फिर्ता गर्ने गरी १२ बुँदे सम्झौता भएको थियो । सम्झौता अनुसार बाँकी रहेको जमिनमा आवश्यक पूर्वाधार निर्माणको काम बागलुङ नगरपालिकाले गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->