पोखरा/ कास्कीको रुपा गाउँपालिकास्थित ध्र्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भईरहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लाग्यो ।
कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भए । हातमा हसिया, कोदालो लगायतका आगो नियन्त्रण गर्ने परम्परागत सामाग्री लिएर डढेलो लागेको वनतिर लागे । प्रत्येकका हातमा आगो निभाउने हरिया स्याउला थिए । सोही स्याउलाको सहायताले जंगलमा दन्किरहेको आगो निभाउन सफल भए । आगो नियन्त्रणमा आएसंगै सम्पूर्ण उपभोक्तामा खुशियाली छायो ।
वनमा आगो लागेको भए पनि वास्तविकता भने थिएन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको आयोजना एवम् डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा आयोजित वन डढेलो नियन्त्रण गरिने पूर्व अभ्यास कार्यक्रमको एक झलक थियो यो ।
आगो पैmलिन नदिनका लागि उपभोक्ताले पहिला अग्निरेखा निर्माण गरे, जुन रेखा निर्माण गर्दा संकलन गरेको पातपतिङ्गर बोरामा राखेर प्राङ्गरिक मल बनाउन घरमा लगेका थिए । घाँस, दाउरा, काठ जस्ता वन पैदावार उपयोग नहुँनु र चरिचरणको अभावमा जंगलमा पात पतिङ्गर थुप्रिन जाँदा वन डढेलोको जोखि प्रत्येक बर्ष बढ्दै गएको रुपा सवडिभिजन वन कार्यालयका प्रमुख सुदिपराज रेग्मीले सो अवसरमा जनाए ।
“फागुन, चैत र वैशाख तीन महिना वनमा अत्याधिक डढेलो लाग्ने गरेको छ” उनले भने, “वनको डढेलो नियन्त्रण भन्दा पनि आगो लाग्नै नदिनका लागि उपभोक्ता माझ यस्ता पूर्व अभ्यासका कार्यक्रमको आयोजना गरिएको हो ।”
महासंघ र डिभिजन कार्यालयको सम्झौता अनुसार कास्कीका पाँच पालिकाका विभिन्न छ स्थानमा पूर्वअभ्यास कार्यक्रमको आयोजना गरिने फेकोफन कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले बताए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य हरि बास्तोलाका अनुसार हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको बृद्धि हुनुको साथै वन क्षेत्रमा थुप्रियको पातपतिङ्गर, ढलापडा तथा सुकेका रुख र बढ्दो झाडिको कारण वन डढेलो बढिरहेको छ । वन डढेलोको कारण जंगली जनावर र चराचुरुङ्गीको वासस्थान नष्ट हुनुको साथै वातावरणमा समेत असर पर्ने हुँदा यसको नियन्त्रणका लागि सम्पूर्ण उपभोक्ता एवम् सरोकारवाला सवै सचेत हुनुपर्ने उनको भनाई थियो । ९० प्रतिशत वन डढेलो मानविय कारणले हुने गरेको छ ।
डढेलो लाग्न नदिन पहिलो अभियान हो, लागेमा आफु सुरक्षित भएर आगो नियन्त्रणमा जुट्नु पर्नेमा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले कार्यक्रममा बताए । वनमा आगो लगाउनेका बारेमा सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गरिने बताउँदै उनले दोषी ठहरिएमा तीन बर्ष कैद, ६० हजार जरिवाना वा दुवै सजाय हुने संवैधानिक व्यवस्था रहेको जनाए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपाका अध्यक्ष तिलबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका ५६ सामुदायिक वन समुहका १०० भन्दा बढीको सहभागिता रहेको थियो ।





