पोखरा/ सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज पोखरा आउँदै छन् । उनी नेपाली सेनाको हेलीकप्टरमार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट झर्ने छन् ।
राष्ट्रपति पौडेलले महाउत्सवसंगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायत देवालय, १०८ शिललिङ्ग तथा धाराको पनि उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पनि सम्बोधन गर्ने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।
सराङकोटमा यहि फागुन १४ गते शिवरात्रीको दिनदेखी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ । महाउत्सवको तेस्रो दिन शुक्रबारसम्म ६५ लाख बढी दान संकलन भएको छ । सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन भइरहेको प्रसारप्रसार संयोजक कृष्ण थापाले जनाए । भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।





