सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

युवा पलायन चिन्ताको विषय– राष्ट्रपति पौडेल

युवा पलायन चिन्ताको विषय– राष्ट्रपति पौडेल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८१, शनिबार

पोखरा/ राष्ट्रपति रामचन्द्र पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको बताएका छन् । युवा पलायनको अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह पनि उनले गरे । ‘युवा पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनुन् भन्ने मेरो आग्रह छ’, पोखराको सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको शनिवार उद्घाटन गर्दै उनले भने । २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताए । उनले भने, ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस् ।’

देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा उनले व्यक्त गरे । केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न सबैसंग उनले अपिल पनि गरे । जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै राष्ट्रपति पौडेलले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि मुलुकको आर्थिक विकास भएको बताए ।

उनले पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना आफूले देखिरहेको बताए । उनले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने भन्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन स्थानीय, प्रदेश र संघ सरकारले उपयुक्त नीति, नियम र कानुन निर्माण गरेर प्रोत्साहन गरिदिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->