सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले तीन दिनसम्म रजत जयन्ती मनाउने

पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले तीन दिनसम्म रजत जयन्ती मनाउने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/ पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले यही फागुन २२ गतेदेखि तीन दिनसम्म संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी दिएको हो ।

समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १४ मा पर्ने आर्थर डाँडाखर्कबाट पोखरामा आई बसोबास गर्नेहरुको संस्था हो । फागुन २२ गते पहिलो दिन आफ्नै कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सब–इनिस्पेक्टर कमल गुरुङले बताए । उनका अनुसार फागुन २३ गते सीतापाइलास्थित वृद्धाश्रमका वृद्धवृद्धलााई भोजनदान गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी जयन्तीको अन्तिम दिन फागुन २४ मा गण्डकी प्रदेशका आर्थिक ममिलामन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुनेछ । उक्त दिन समाजको रजत स्मारिका २०८१ को विमोचन गरिनेछ । साथै समाजमा विशेष योगदान पुऱ्याउने व्यक्तिहरुलाई सम्मान गरिने छ । लामो समय शिक्षण पेशामा आवद्ध शिक्षक, विद्यालय व्यवस्थापन समिति, पञ्चकोशी समाज युके, हङकङलगायत समाजलाई सहयोग पुराउँदै आएका संघसंस्थालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले बताए । सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

पर्वत, स्याङ्जा र कास्कीको संगमस्थल, पञ्चासेको काखमा अवस्थित आर्थर, डाँडाखर्क गाउँ बाक्लो गुरुङ बस्तीको रुपमा चिनिन्थ्यो । कृषिमा आश्रित गाउँमा लाहुरे संस्कृति बढेसंगै शिक्षा, स्वास्थ्यसहित दैनिक जीवनमा सहजता अनि नयाँ अवसरको खोजी गर्दै नजिकको सहर पोखरामा बसाइ सरे । नयाँ ठाउँ, नयाँ परिवेश रोजे पनि गाउँको संस्कार र संस्कृति अनि आफन्तहरुको न्यानोपन अनि आफन्तहरु आड भरोशा खोज्न थालेपछि समाज गठन भएको थियो । गाउँले परिवारलाई एकै ठाउँमा सामेल गराइ दुःख(सुखमा साथ, सहयोग गर्नुका साथै आफ्नो भाषा, धर्म संस्कार संस्कृतिको संरक्षण एवं जन्मभूमिको विकास गर्ने उद्देश्यले २०५७ मंसिर २ गते स्व. मेयर हर्कबहादुर गुरुङको परिकल्पनामा समाज स्थापना गरिएको थियो ।

समाज पोखरामा जन्मिए पनि आफ्नो जन्मभूमिको विकासको लक्ष्य पनि लिएको थियो । त्यही उपक्रममा समाजको सक्रियतामा चन्दा संकलन गरी नेपाल सरकारको एक पैसा नलिइ पहिलोपटक स्याङजा खड्‌केटारी, बाँगे, बाङसिङ सरादी हुँदै गाउँलाई मोटर बाटोले जोड्न सफल भएको थियो । सम्भवतः पर्वत जिल्लामै पहिलोपटक गाउँलेहरुको सक्रियतामा मोटर बाटो निर्माण गर्ने आर्थर डाँडाखर्क पहिलो गाउँ हो । यसैगरी गाउँमा रहेको पञ्चकोशी विद्यालयलाई उच्च माविको स्वीकृति दिलाउन तथा त्यसको स्तरोन्नतिको पहलमा पहल पनि यही समाजले गरेको थियो । पोखरा र गाउँमा समाज घर निर्माण, आर्थर डाँडाखर्कमा अवस्थित १८३६ सालमा निर्माण भएको ऐतिहासिक साङ ङाग धोर्जे छोयलिङ गुम्बाको जीर्णद्वार तथा पुनर्निर्माणम्म लागि समाजले नै अगुवाइ गरिरहेको छ । साथै समाजले पञ्चासे क्षेत्रलाई प्राकृतिक, धार्मिक एवं पर्यटकीय रुपमा विकास गर्न विभिन्न निकायहसँग सहकार्य गर्दै आएको छ भने पञ्चासेमा गुरुङ भ्यूटावरुको निर्माणसमेत गरेको छ । समाजले स्थापनाकालदेखि नै आफ्ना सदस्यहरुलाई समस्या परेको बेला सक्दो सहयोग गर्दै आइरहेको छ । सीपमूलक तालिमहरु आयोजना गरेर क्षमता अभिवृद्धि गराउने, संस्कृति संरक्षणका निम्ति विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको समाजमा हाल ३२१ घर परिवार सदस्यको रुपमा रहेको अध्यक्ष गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->