सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्लीन बागलुङ अभियानअन्तर्गत उपभोक्तालाई बाल्टी वितरण

क्लीन बागलुङ अभियानअन्तर्गत उपभोक्तालाई बाल्टी वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

बागलुङ/बागलुङ नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि ‘क्लीन बागलुङ’ अभियानअन्तर्गत बागलुङ बजार क्षेत्रका उपभोक्ताहरुलाई बाल्टी वितरण गरेको छ । नगरपालिकाले बजार क्षेत्रमा पर्ने १, २, ३ र ४ नम्बर वडा कार्यालयमार्फत् उपभोक्तालाई फोहोर संकलनका लागि बाल्टी वितरण गरेको हो ।
घर घरमा उत्पादन हुने कुहिने र नकुहिने तथा जोखिमयुक्त फोहोरलाई घरबाटै छुट्टयाएर व्यवस्थापन गर्नेगरी अभियानअन्तर्गत उपभोक्तालाई तीन रंगका तीन वटा बाल्टी वितरण गर्ने कार्य जारी रहेको वडा नं. २ का वडाध्यक्ष सुरज बोसेलले जानकारी दिए । वडा नं. २ ले मंगलबारसम्म १ सय ५९ घरका लागि ४ सय ७७ थान बाल्टी वितरण गरेको छ ।
यसअघि वडा नं. १ रामरेखाले ३ सय घरपरिवारका लागि ९ सय थान बाल्टी वितरण गरिसकेको छ भने वडा नं. ३ र वडा नं. ४ को कार्यालयले मंगलबारदेखि बाल्टी वितरण गर्न सुरु गरेका छन् । उपभोक्ताबाट बाल्टीको माग आएकाले तत्कालका लागि बजारक्षेत्रमा बाल्टी वितरण गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । नगरपालिकाले बजारक्षेत्रमा ५ हजार घरमा बाल्टी वितरण गर्ने योजना बनाएको छ ।
नगरपालिकाले एक करोड लागतमा फोहोरको दीर्घकालीन व्यवस्थापन गर्दैछ । फोहोरलाई घरबाटै वर्गीकरण गर्ने, प्रशोधन गर्ने र जिरो वेस्ट प्रविधिबाट व्यवस्थापन गर्ने काम भइरहेको खड्काले बताए । फोहोर संकलन गर्ने दुई बाल्टी नगरपालिकाले निशुल्क दिने र एक बाल्टी उपभोक्ताले ४ सय ५० रुपैयाँमा खरिद गर्नेगरी वितरण गरिएको हो ।
२०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा र त्यसपछि वडा नं. १ को खुर्तुर्केमा फाल्दै आएको फोहोरको डंगुर पनि खाली गराइएको छ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकोले नगरपालिकाले तीनवटै फोहोर संकलन गर्ने स्थानमा भुँइ ढलान गरेर जस्तापाताले छाएको छ । कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने प्लाष्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने र अन्य फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने गरी कोरियाली मेसिन ल्याउन सम्झौता भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->