सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीमा ठूला योजना संचालनमा जग्गा अभाव

जैमिनीमा ठूला योजना संचालनमा जग्गा अभाव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८१, बुधबार

बागलुङ/लामो समयदेखि जैमिनी नगरपालिकाले कुश्मीसेरा बजारदेखि जैमिनी धाम जाने सडकमा फोहोर फाल्दै आएको छ । उक्त फोहोरले ठेउले खोलामा असर पर्न थालेको छ ।
त्यस बाहेक सडकमा यात्रा गर्दा पनि दुर्गन्ध फैलन थालेको छ । हाल जैमिनी धामदेखि कुश्मीसेरा जाने सडक निर्माणाधिन छ । सडक चौडा र स्तरीय बनाउने क्रममा उक्त फोहोर फाल्ने स्थान पनि भत्कन्छ । त्यसपछि फोहोर खोलामा जाने खतरा छ ।
औद्योगिक ग्राम बनाउने सपना पनि नगरपालिकाको पुरा हुन पाएको छैन । कम्तिमा ३५ देखि १ सय रोपनी जमिन भएमा मात्र तोकिएका उद्योगहरु संचालन गर्ने र त्यसका लागि भौतिक निर्माणको लागि प्रदेश सरकारले अनुदान दिने व्यवस्था छ । तर जैमिनीले दुवै काम शुरु गर्न सकेको छैन ।
ती बाहेक जैमिनीले निर्माण गर्न लागेका सबै ठूला योजनामा जग्गा प्राप्तीको चुनौती व्यहोरेको छ । जग्गा खोज्दा नपाएपछि अधिकांस योजना अलपत्र पर्ने गरेका हुन् । फोहोर व्यवस्थापन, औद्योगिक ग्राम, विद्युत सवस्टेशन, प्रहरी चौकी लगायतको काममा जग्गा नै बाधक बनेको नगरप्रमुख नरबहादुर पुनले बताए । ‘सानो ठाउँ छ, कसैले जग्गा दिंदैनन्, किन्नै खोज्दा पनि पाउन मुस्किल छ, त्यसैले हाम्रा अधिकांस योजनामा असर परेको छ’ पुनले भने, ‘पाखो क्षेत्रमा पुग्दा पनि सरकारी बजेट हो भनेर मनलाग्दी मूल्य भन्छन् ।’ उनले उचित जग्गा पाएमा केही देखिने काम गर्न सकिने लक्ष्य सुनाए ।
नगरप्रमुख पुन र उपप्रमुख हरिहर शर्माले केन्दीय तहसम्म समन्वय गरेर जैमिनीमा केही योजना, सडक र कार्यक्रममा बजेटको व्यवस्थापन गरेका छन् । तर जग्गा अभावमा कतिपय काम चाहेर पनि गर्न नसकिएको हो भन्छन् शर्मा । पहिलो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालकाले वडा नं. ५ को केही जग्गा व्यवस्थापनको तयारी गरेको छ । ‘तत्काल फोहोरको दुर्गन्ध पनि नआउने, खोला र सडकमा पनि फाल्नु नपर्ने स्थान भेटेका छौं, त्यसलाई औपचारिकता दिन बाँकी छ’ पुनले भने, कम्तिमा ३० वर्षका लागि ४ रोपनी जमिनको व्यवस्थापन भएको हो ।’ उक्त जग्गा थोरै भएकोले थप खोजी भैरहेको छ ।
औद्योगिक ग्रामका लागि भने कम्तिमा ३५ रोपनी चाहिने भएपछि नगरपालिकालाई चुनौती थपिएको हो । वडा नं. १ को कुश्मीसेरामा त्यतिको जमिन कतैपनि नभेटेपछि वडा नं. ५ कै बिनामारेमा जग्गाको खोजी भएको हो । ‘नवप्रवद्र्धतन कार्यक्रमअन्र्तगत बाँस उद्योगको लागि चालुवर्ष पनि १ करोड बजेट छ, काम गर्न सकेका छैनौं’ पुनले भने, ‘भिरालो जग्गा भएपनि सम्याएर औद्योगिकग्राम बनाउने तयारीमा छौं ।’ भेटिएको जग्गाका धनीसँग छलफल चलाइरहेको उनले बताए । उद्योग ग्रामका लागि विद्युत समेत चाहिने भएकोले सवस्टेशन समेत समयमा स्थापना गर्न विद्युत कार्यालयलाई सहयोग गर्नेगरी जग्गाको व्यवस्थगापनमा लागेको उपप्रमुख शर्माले बताए । प्रहरी चौकी निर्माणका लागि पनि तोकेको जग्गा अभाव भएकोले खोजीमा लागेको उनको भनाई छ । हालको जिपपार्क नजिकैको जग्गामा केही थप गरेर प्रहरी चौकी निर्माणको पहल भएको उनले जानकारी दिए ।
त्यस बाहेक नगरभित्र व्यवस्थित बधशाला निर्माण, रंगाशाला र पार्क लगायतको लागि पनि जग्गाको खोजी भैरहेको वडा नं. १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । भूगोल ठूलो भएपनि पूर्वाधार बनाउने स्थान धेरै सानो भयो, त्यसैले उचित जग्गा पाउनै मुस्किल भएको उनले बताए । तरपनि आसपासका वडासम्म पुगेर जग्गाको व्यवस्थापनमा लागिएको उनको भनाइ छ । कुश्मीसेरादेखि बुटवलसम्म, सदरमुकाम र पोखरासम्म पनि जिप र बस संचालन हुन थालेकोले उचित बसपार्क र जिपपार्कको आवस्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->