सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प छैन– अधिकारी

संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प छैन– अधिकारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार
फाईल तस्वीर ।

पोखरा/  गण्डकी प्रदेश सभामा सत्तासीन एमाले संसदीय दलका नेता खगराज अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएकाले यसमाथि प्रश्न उठाउन नहुने बताएका छन् । प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर पछिल्लो समय राजतन्त्रका पक्षधरहरुले गरेको व्यवहार नसच्चाए ठूलो आपत्तीमा पर्ने चेतावनी उनले दिए ।

‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो । अव यो पछाडिको चक्रमा जान चाहदैन, यसको पांग्रा पछाडि होइन अगाडि बढ्छ’, अधिकारीले भने, ‘सम्पन्न, समृद्ध र समुन्नत गणतन्त्र नेपाल बन्ने छ । बनाउने अभियन्ता हामी हौ । गणतन्त्रबिरुद्धको सीमा र अराजकता बढाइयो भने कानुनको परिपालना गर्नु सबैको कर्तव्य हो भन्ने सबैले बुझ्नु पर्छ ।’

एअरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याउने र रातीराती मुर्ति क्रेनले उठाएर विदेशका बेच्नेलगायत थुप्रै बिकृति राजतन्त्रको पालामा भएको उनले बताए । साथै विभिन्न कालखण्डमा नेपाली जनतलाई दुख दिने काम पनि राजतन्त्रबाट भएको भन्दै अधिकारीले अहिले केही कमीकमजोरी देखाएर, फेक सूचना दिएर गणतन्त्रमाथि प्रश्न उठाउन थालिएको बताए । आफुहरु सहि सूचना दिएर देशलाई अघि बढाउन चाहेको उनको भनाई थियो । ‘रबर तन्काउदै जाँदा चुडिने गरी नतानियोस । सीमा र लक्ष्मण रेखा तोड्ने काम नहोस्,’ राजतन्त्र पक्षधरप्रति लक्षित गर्दै उनले भने, ‘यदि यसो गरेमा ठूलो आपत्ति पर्छ । भीरबाट गाइ लडेमा रामराम मात्र भन्ने हो काध थाप्न सकिदैन ।’ अधिकारी प्रदेश सभाको यो हिउँदे अधिवेशनमा आज पहिलोपटक बोलेका हुन् ।

विभिन्न कालखण्डका आन्दोलन र संघर्षपछि अहिलेको नयाँ व्यवस्था ल्याएको तर कसैको अनुकम्पा र निगाहामा नआएको उनले बताए । प्रदेश सभामाथि प्रश्न उठाउन थालिएकोप्रति पनि उनले असन्तुष्टी जनाए । ‘प्रदेश सभालाई अन्डरइस्टिमेट गरिएको छ । प्रदेश सभा चाहिदैन भन्न थालिएको छ’, उनले भने, ‘के ७५ वटै जिल्ला पंचायत, १४ वटै अंचल पंचायत र ४, ५ हजार गाउ पंचायत अनि अंचलाधीश चाहिएको हो ? यसलाई खारेज र निषेध गरेर हामी नयाँ परिपाटीमा आएकाले अव त्यो संभव छैन ।’ उनले संघीयतालाई सवलीकरण र सुदृढिकरण गरेर जनताको अधिकारलाई थप प्रभावकारी बनाउन प्रदेश संरचना अघि बढाएको बताए । ‘हाम्रा केही रिजर्भेसन होलान, संघीय सरकारसंग केही अन्तरविरोध होलान, यी हाम्रा आन्तरिक हुन । यसलाई समाधान गर्न सक्छौ यसलाई हामीले बुझेका छौ’, उनले भने, ‘दक्षिण अफ्रिकामा स्थानीयय, प्रदेश र संघको अधिकार कति प्रतिशत हो भन्ने कुरा टुंगो लगाउन ३० वर्ष लागेको थियो । हामीले यसलाई टुंगो लगाउन द्रुत गतिमा काम गरिरहेका छौ ।’ भूकम्प, कोभिडको बेला प्रदेश सांसदले आफ्नो तलवभत्ता काटेर प्रभावितको घाउँमा मल्हमपट्टी लगाएको भन्दै अधिकारीले प्रदेश सभा संसदीय अर्थात, संघीय संरचना मात्र नभई मानवीय आवस्यकताको लोकतान्त्रिककरणको अद्भूत चामत्कारिक संरचना रहेको बताए । उनले हिजो प्रश्न गर्नेलाई निरकुंश राजतन्त्रले जनताको गला निमोठ्यो, हत्या गर्यो, रगतको आहाल र लासको चाङमाथि उभिएकोले राजतन्त्रलाई फालेर हामी गणतन्त्रको शंखनाद गर्न पुगेको उनको भनाई थियो । अहिलेको व्यवस्था ल्याउन आफुले पनि निकै कष्टहरु सहेको उनले सुनाए । तर आज कोही कसैलाई चाहना भएर श्री ५ महाराजधिराज सरकार लेखेर असंवैधानिक रुपमा पोष्टर टासिन्छ भने त्यो सहन नसक्ने उनले जिकीर गरे ।

उनले लोकतन्त्र र गणतन्त्रका कारण धेरै परिवर्तन र बिकास भएको उल्लेख गरे । अव पर्यावरण, वातावरणीय संरक्षण र बिकास निर्माणमा सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको उनले बताए । ‘प्रदेशका ६० जना सांसदबीच छलफल भएर एउटा निष्कर्षमा जानुपर्ने बेला आएको छ’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन दिनु हुदैन ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->