पोखरा/ गण्डकी प्रदेश सभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । शुन्य समयमा बोल्दै उनीहरुले समसामयिक बिषयमा आफ्ना भनाई राखेका थिए ।
कांग्रेस सांसद टीकाकुमारी बस्यालले मध्यपहाडी लोकमार्गको लमजुङस्थित मध्यनेपाल नगरपालिकामा पर्ने पिस्ती खोलामा मोटरेवल पुल नबन्दा वर्षायाममा सडक पूर्ण अवरुद्ध हुने बताइन । यस विषयमा पटकपटक कुरा उठाएपनि सरकारले कुनै वास्ता नगरेको र लमजुङकै मजुवाबेंशी–कल्याण खण्डमा ४ वर्ष अगाडि बाढीले बगाएको सडक अहिलेसम्म नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको भन्दै सरकारले यसमा केही गर्नुपर्ने बताइन । कांग्रेसकै डिल्लीराज सुवेदीले आगलागी नियन्त्रणमा पूर्व सावधानी र पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । गतवर्ष प्रदेशभित्र ४६७ स्थानमा डढेलो लागेको र ८२७७ हेक्टर वन क्षेत्र प्रभावित भएको, आगो निभाउने क्रममा केहीले ज्यान गुमाएका र केही घाइते भएको भन्दै सुवेदीले यस वर्षको हिउँदमा कम वर्षा भएको परिस्थितिमा बेलेमै डढेलो नियन्त्रणका निमित्त पूर्व सावधानी अपनाउनु पर्ने बताए । साथै समुदायस्तरमा सचेतना कार्यक्रम, कानुनी कारवाही र सरकारले आफ्नो तवरबाट अवलम्बन गर्नसक्ने प्रविधिगत विषयसहित तयारी अवस्था बस्न सरकारसमक्ष अनुरोध गरे । प्राकृतिक तथा प्रविधिगत उपायको साथमा कानुनी उपाय र स्थानीय सरकार, संघीय सरकारका संरचना तथा प्रशासनिक इकाइहरुलाई पनि बेलैमा सजग र सावधानीसाथ राख्ने र एककिृत कार्ययोजना बनाउनु पर्ने भन्दै उनले ध्यानाकर्षण गराए ।
एमाले सांसद देवका पहारी त्रिपाठीले पोखरा अन्तराष्ट्रिय बिमानस्थल उद्घाटन भएको २ वर्षपछि भए पनि चैत ५ पोखरा– चीनको छेन्दु र फागुन १८ देखि पोखरा–ल्हासा उडान हुने तालिका सार्वजनिक भएकोमा खुशी व्यक्त गरिन् । उनले यी दुई गन्तव्यमा उडानको निरन्तरताको लागि प्रदेश सरकाले विशेष प्रथामिकतासाथ काम गर्ने योजना बनाउन अपील गरिन् । एमालेकै भक्तबहादुर कुँवर र कांग्रेसकी रेखा गुरुङले फागुन २१ गते पर्वतको विहादी–६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । साथै घाइतेका शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उपचारमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गरे । कुँवरले क्षतिविक्षत भएका सडकका कारण दुर्घटना हुने भन्दै प्रदेशभित्रका सबै सडकको मर्मतसंभार गर्न सरकारको ध्यानाकर्षण गराए । गुरुङले सडक सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन र यातायात व्यवस्थापनलाई थप व्यवस्थित गर्न माग गरिन् ।
कांग्रेसका महेश भट्टराईले स्याङजाको गल्याङ नगरपालिका–५ मोहनडाँडास्थित ठुलाखोला, छतिवन भन्ने स्थानमा ३ हजार मिटर लामो कूलो रहेकोमा पहिरोले अवरुद्ध गराएको र ८ वर्षदेखि ६ इन्च पाइपबाट काम चलाएकोमा गत बैशाखको आगलागीले पाइप जलेपछि सिंचाई अवरुद्ध भएको बताए । २ हजार मिटर पाइप जलेपछि ४० घरको १२० रोपनी जमीन बाँझो हुन पुगेको भन्दै उनले सिंचाईको विपत क्षतिपूर्ति पाउने कार्यविधिमा नभएकाले कार्यविधि संसोधन गर्न र विस्थापित हुनबाट जोगाउन माग गरे । माओवादी केन्द्रकी सांसद सुशिला सिंखडाले मध्यपहाडी लोकमार्गको गोरखाको आरुघाट निबेल खण्डमा सडक निर्माण समयमा सम्पन्न नहुदा समस्या भोग्नुपरेको, वर्षौदेखि पुरानौ ज्यालामा मजदुरलाई काम लगाइएको भन्दैसरकारको ध्यानाकर्षण गराइन । एमालेका श्यामराजा महतले तनहँुको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने दुलेगौडा हर्कपुर मार्गमा प्रदेशबाट बजेट छुटिएपनि काम हुन नसकेको दुखेसो पोखे । पछिल्लो समय स्थानीयले भेला राखेर राजनीतिक नेतृत्वमाथि प्रश्न गर्न थालेकाले डरलाग्दो स्थिति उत्पन्न भएको भन्दै उनले ठेकदार र भौतिक पूर्वाधार कार्यालयका प्राविधिकबीचको समस्याले सडकको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।





