सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राजतन्त्रको नारा लगाउने इतिहास नपढेका मुर्खहरु हुन् : एमाले महासचिव पोखरेल

राजतन्त्रको नारा लगाउने इतिहास नपढेका मुर्खहरु हुन् : एमाले महासचिव पोखरेल


  • रञ्जिता शर्मा
  • फाल्गुन २२ २०८१, बिहिबार

बागलुङ/नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको विकल्प अराजकता हुनै नसक्ने बताएका छन् । धार्मिक भ्रमणको नाममा पुर्वराजा ज्ञानेन्द्र शाहले देश दौडाहा गरिरहेकोप्रति संकेत गर्दै पोखरेलले एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरी अराजकता सिर्जना गर्न खोजीरहेको बताए ।
राजतन्त्रकै कारण देश विकासमा धेरै वर्षपछि धकेलिएको चर्चा गर्दै पोखरेलले भने, ‘राजा आउ देश बचाउको नारा लगाएर देश बन्छ भन्नेहरु इतिहास नपढेका मुर्खहरु मात्र हुन् ।’ राजतन्त्र फर्काउने नाममा केही अराजक तत्वहरु फेरी सल्बलाउन थालेको र त्यो कहिल्यै सफल नहुने पोखरेलले दाबी गरे । ठूला दल र लोकतन्त्रलाई कमजोर पार्न राजतन्त्र र माओवादीले देशमा अराजकता सिर्जना गर्ने काम गरिरहेको बताउँदै पोखरेलले भने, ‘लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै सक्दैन, लोकतन्त्रको थप विकास र परिमार्जन गर्न आवश्यक रहेको छ ।’
माओवादीले दश वर्ष हिंसाको नेतृत्व गर्दा र दश वर्ष जनतालाई भड्काउने काम गर्दा दुई दशक खेर गएको र त्यसको जस पनि एमाले र कांग्रेसले बोक्नुपरेको पोखरेलको भनाई थियो । माओवादीलाई नक्कली मान्छेहरुको जमातको संज्ञा दिँदै बिहिबार नेकपा एमाले जिल्ला कमिटि बागलुङले आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै पोखरेलले भने, ‘माओवादीलाई सत्ता बाहेक सबै कुरा भ्रम हो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै महासचिव पोखरेलले ट्वीटर र फेसबुकले जन्माएका नेताले देशको नेतृत्व गर्न नसक्ने दाबी गरे ।
नेपालका राजनीतिक दलहरुले कामै गर्न नपाउँदा जनचाहाना अनुसार देशले विकासको गति लिन नसकेको पोखरेलले जिकिर गरे । देश बनाउन राजनीतिक स्थायित्व अपरिहार्य रहेको पोखरेलको भनाई थियो । ‘नेपालको लोकतन्त्रमा हामीले हासिल गर्न नसकेको सबैभन्दा कमजोर पक्ष भनेको राजनीतिक स्थायित्वको अभाव हो । देशलाई अस्थिरताको दुश्चक्रबाट निकाल्न धेरै राजनीतिक दलहरुको आवश्यकता छैन’ पोखरेलले भने ।
राजनीति अस्थिरता सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेकाले स्थायित्वका लागि एमालेलाई निर्णायक शक्ति बनाउन जनताले संकल्प गर्नुपर्ने बेला आएको पोखरेलले बताए । सत्ता गुमाएहरुले एमालेविरुद्व जनतामा भ्रम सिर्जना गरिरहेको बताउँदै पोखरेलले स्थायी सरकारका लागि कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको पोखरेलले प्रष्ट पारे ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज किरण गुरुङ, एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा लगायतले बोलेका थियो । एमाले बागलुङले १० स्थानीय तहमा पालिका स्तरीय अभिमुखीकरण, फागुन मसान्तभित्र वडा स्तरीय र चैत मसान्तभित्र टोलसम्म अभिमुखीकरण कार्यक्रम गर्दै छ ।
कार्यक्रममा प्रदेश, जिल्ला कमिटी, पालिका कमिटी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, जनवर्गिय संगठनका जिल्ला अध्यक्षहरु गरी करिब एक हजार नेता कार्यकर्ता सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->