बागलुङ/जिल्लाको जैमिनी नगरपालिका ९ पैञ्युथन्थापका हरिप्रसाद पाध्याको घर लाम्सु गाउँमा पर्छ । उनको घरदेखि दक्षिणतर्फ कालुङखोला निरन्तर बगिरहेको छ । त्यहीं खोलाले बनाएको बगरको आसपसमा ठुलो खेतको फाँट थियो ।
८० वर्षिय हरिप्रसाद पाध्या भर्खर गाउँठाउँ चिन्ने भएका थिए । २००६ साल साउनको महिनामा पैञ्युथन्थापको टाउका आसपासको तारेभीरमा पहिरो खस्यो । कालुङखोलाले शक्तिशाली रुप लियो । सहरातेफाँटहुँदै ढुंगा र माटो बटुलेर उर्लिएको खोलाले लाम्सुगाउँ नजिकैको फाँट, रुम्टाको फाँट लगायतका धेरै खेतीयोग्य जमिन खोलामा मिलायो । खोला बगेको ठाउँमा बगर बन्यो, बगरखेत खोलामा परिणत भयो ।
२००६ सालसम्म धान फल्ने खेतमुनी पुरिएका पथ्थरहरु छरपस्ट देखिन थाले । लाम्सु गाउँको दक्षिणतर्फ एउटा ठुलो पथ्थर देखियो । जसको आकृतिले स्थानीय चकित बने । झट्ट हेर्दा स्थानीय तर्सिए । जुन ढुंगा साँच्चिकै हात्तिको टाउको जस्तै छ । हेर्दा पनि आनन्द, त्यहाँ पुग्दा झनै आनन्द । ‘प्रकृतिले लुकाईराखेका भगवानको दर्शन गरायो, त्यही हात्तिको मुखाकृति खुलाउनकै लागि भवितव्य भएको जस्तो लाग्छ’ पाध्या भन्छन् ‘जमिनले अठ्याएर राखेको गणेशको रुप बाढीले बाहिर ल्यायो ।’
बाढीले घुम्टो उघारेको हात्तिको मुखाकृतिको २०१२ सालदेखि स्थानीयले पुजाआजा गर्न थालेका हुन् । प्रकृतिका पुजक नेपालीका लागि प्रकृतिले नै पुजा गर्ने ढुंगा दिएपछि आफ्ना पितापुर्खाले मन्दिर बनाएर पुजा गर्न थालेको पाध्या बताउँछन् । पहिले खरको छानो राखेर मन्दिर बनाईयो, केही वर्षपछि ढुंगे छानो पाएको हात्तिढुंगाको मन्दिरले अहिले ढलान छानोमा परिणत भएको छ ।
परम्पतागत रुपमा हुँदै आएको पुजाआजा र संरक्षणको काम अहिले संस्थागत रुपमा सुरु भएको छ । हात्तिढुंगाको विकास, प्रबद्र्धन र प्रचार प्रसारका लागि स्थानीयले हात्तिढुंगा गणेश मन्दिर सामाजिक संस्था गठन गरेका छन् । सोही संस्थाले यहाँका हरेक क्रियाकलाप सञ्चालन गर्छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले आकर्षक हुँदाहुँदै पनि हात्तिढुंगा आझेलमा परेको संस्थाका सल्लाहकार डम्मर बहादुर सार्कीले बताए ।
‘प्रकृतिले ढुंगामा गणेशको बहान हात्तिको आकृति दिनु हाम्रो लागि उपहार हो’ संस्थाका अध्यक्ष बलबहादुर पुन मगरले भने, ‘तर यहाँ राज्यका निकायको ध्यान पुगेन्, प्रचार कम भएकै कारण हात्तिढुंगा ओझेलमा छ ।’ छेउमै बग्ने कालुङ्खोलाको सुसेली, हात्तिढुंगा वरपर भित्तामा झुण्डिएर अडिएका अचम्मका ढुंगाहरु पैञ्युथन्थाप र राङ्खानीको प्राकृतिक सौन्दर्यता यहाँको आकर्षण भएको पुन बताउछन् । धर्ममा विश्वास गर्नेहरुका लागि गणेशको पुजा अर्चना यहाँको मुख्य आकर्षण भएको उनको भनाई थियो ।
हात्तिढुंगाको विकासका लागि गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले ३० लाख खर्चेको छ । पहिलो १५ लाखले शौचालय, तारबार लगायतका संरचना बनेको र अर्को १५ लाखले मन्दिरदेखि लाम्सु गाउँसम्मको पदमार्ग निर्माण गरिएको संस्थाका सचिव कृष्ण बहादुर केसीले बताए । दानदक्षिणाकै भरमा मन्दिर निर्माण गरेको समितिले झण्डै चार रोपनी जग्गा ऋण काँडेर मन्दिरको नाममा खरिद गरेको छ । जहाँ शिव मन्दिर, सत्तल, पुजारीलाई कुटी र खेल मैदान निर्माण गर्ने योजना समितिसँग छ ।
स्रोतको अभावमा दैनिक पुजा चलाउन कठिन भैरहेको सचिव केसीले बताए । केन्द्रिय सरकारको भौतिक पूर्वाधार मन्त्रालयले मन्दिर निर्माणका लागि ५० लाख र मन्दिरसम्मको सडक निर्माणका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा मन्दिर, सडक लगायतका काम हुने भएकाले अब प्रचार प्रसार र धार्मिक पर्यटक भित्राउने काममा समिति लाग्नुपर्ने स्थानीय बताउँछन् । राज्यको लगानी, स्थानीयको समर्पण हुँदाहुँदै हात्तिढुंगामा पर्यटक भित्राउन नसकिएको वडा अध्यक्ष इन्द्रबहादुर थापा बताउँछन् ।





