बागलुङ/आदर्श संचार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकको १८औं वार्षिकोत्सव सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र म्याग्दीको टोड्केमा पुगेर वार्षिकोत्सव मनाइएको हो ।
पछिल्लो दशबर्षदेखि उक्त पत्रिकाको वार्षिकोत्सव पर्यटकीय स्थलमा पुगेर मनाउने गरिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, राजनीतिक नेतृत्व भन्दा पत्रकारिता क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गर्ने लक्ष्यले यो विधि अपनाएको सम्पादक रामबहादुर जिसीले बताए ।
कार्यक्रममा पत्रिकाको बिशेषंक बिमोचन, प्रवचन र पर्यटन क्रियाकलापहरु समावेश थिए । नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ले पत्रिकाको वार्षिकोत्सवको शुभकामना दिंदै पर्यटन प्रवद्र्धनमा थालिएको कामले समाज बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । पछिल्लो समय लेखन क्षेत्रमा आउने पत्रकारको संख्यामा कमी भएको बेला भ्रमण, लेखनवृत्ति लगायतको कार्यले आर्कषण बढाउन सक्ने समेत बताए । महासंघले पनि लेखनवृत्तिको तयारी गरिरहेको बेला धौलागिरि जागरणले पनि पर्यटन लेखन पुरस्कारकोषको घोषणा गरेकोले पत्रकारिता क्षेत्रमा पुन आशा जगाएको उनले बताए ।
कार्यक्रममा पत्रिकाका सम्पादक रामबहादुर जिसीले ‘धौलागिरि जागरण, पर्यटन पत्रकारिता पुरस्कार कोष’ बारे जानकारी गराएका थिए । कम्तिमा ५ हजार जनाबाट एकएक हजार सहयोग संकलन गरेर ५० लाख रुपैयाँको कोष बनाउने, उक्त कोषबाट बर्षेनी पर्यटन क्षेत्रमा कमल चलाउने पत्रकारलाई ५१ हजार नगद पुरस्कार दिने लक्ष्य बनायएको हो । त्यस बाहेक एक बर्ष भित्रै साबिकको धौलागिरि क्षेत्रका १ सय पर्यटकीय गन्तव्यमा पुग्ने लक्ष्य पनि बनाइएको छ । त्यसकालागि १ सयवटा गन्तव्य समेत सूचिकरण गरिएको छ । महासंघका अध्यक्ष राम थापा अविरलले उक्त सूचिको बिमोचन समेत गरेका थिए ।
वार्षिकोत्सवमा मंगला गाउँपालिका वडा नंं १ का अध्यक्ष एक्जिट रोका, रघुगंगा गाउँपालिका ५ का अध्यक्ष मनबहादुर शेरपुन्जा, केन्द्रीय दुग्ध सहकारी संस्थाका संचालक दिपक गौतम, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर, प्रेस चौतारी नेपालका गण्डकी प्रदेश सचिव बालकृष्ण सुवेदी, प्रगतीशिल पत्रकार संघका अध्यक्ष बिजय राना, टोड्के हिल रिर्सोटका संचालक भीम शेरचन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीकी अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को अध्यक्षता, सम्पादक रामबहादुर जिसीको संचालन र सहसम्पादक सिर्जना पन्तको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





