पोखरा/पोखराको काहुँखोलादेखि सिक्लेस जाने सडक सुरुमा चिल्लो कालोपत्रे छ । पर्यटकीय गाउँ मादी जान आन्तरिक र बाह्य पर्यटक रुचाउँछन् र जाने पनि गर्छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकैको दुरीमा रहेको चर्चित गाउँ सिक्ले; जान सबैलाई सहजै होला भन्ने लाग्छ । पोखराबाट मात्र ३६ किमीको दुरीमा रहेको सुन्दर सिक्लेसको जब वडा नम्बर ६ को चिप्लीमा पुगिन्छ त्यसपछि सुरु हुन्छ कष्टकर यात्रा । सिक्लेस जति चर्चित छ त्यहाँ पुग्ने सडक त्यति नै कठिन पनि छ विशेष गरी दुई पाङ्ग्रे सवारीका लागि । अचम्मको कुरा त निकै सुगम भनेर चिनिने सिक्लेस गाउँमा बर्खाको तीन महिना त दुई पाङ्ग्रे र बसलाई निषेधाज्ञा जस्तै हुन्छ कारण हो सडक । वडा नम्बर ६ देखी वडा नम्बर १ को सिक्लेस पुगुन्जेल कच्ची सडकले पर्यटक सँगै गाउँलेहरूले निकै सास्ती खेप्न बाध्य भइरहेका छन् । ३० बर्सदेखि पोखरा सिक्लेस बस चलाउँदै आएका चालक मनोज भण्डारीको दुखेसो निकै छ, अब बर्खा लाग्न थालेपछि उनी विगतका दुःखहरू सम्झन्छन् । असार लागेपछि चालक, गाउँलेदेखि पर्यटकका लागि दुःखका दिन सुरु हुन्छ त्यो दुःख तीन–चार महिनासम्म चल्छ त्यो हो कच्ची सडक । चालक मनोजलाई बस चलाउँदा ज्वरो नै आएजस्तो सम्म हुन्छ । उनी भन्छन्, ‘वडा नम्बर ६ को चिप्लिदेखी वडा नम्बर १ पाउदुरखोला सुरुभएदेखी सिक्लेसम्म निकै गाह्रो हुन्छ । बस लिएर हिँड्दा आफ्नै शरीरमा ज्वरो आएजस्तो हुन्छ । अहिले वारी चिप्लीसम्म सुधार भएको छ हुन त हिउँदमा मात्रै हो सुधार बर्खा लागेपछि गाडी चलाई नसक्नु हुन्छ । पानी नपर्दा धुलोमा कुद्छ अब अलिकति पानी पर्दा गाडी फसिन्छ । पानी पर्दा पनि हामीलाई मात्रै नभई जिपलाई पनि त समस्या नै छ फोर विलर भएमा जान्छ नत्र त टायर पड्कने गाडी फस्ने हुन्छ । ज्यानदेखि गाडीको सुरक्षा गर्नुपर्छ जोखिम बाटो त्यस्तो छ प्यासेन्जरको गालीदेखि सबैको गालि पनि खानुपर्छ ।’ गाडी फसेर आफूलाई तनाव हुन्छ तर, त्यो कुरा कसैले बुझेका हुदैँनन र हामीलाई नै गालि गरिरहेका हुन्छन् । त्यस्तै छ चलिरहेकै छ । पहिलाको लेखी अहिले ६० प्रतिशत सुधार भएको उनी सुनाउँछन् । आफुहरुलाई प्रक्रियामा छ टेन्डर हुँदैछ विस्तारै हुन्छ भन्दै सान्त्वना दिने काम भइराखेको उनको भनाइ छ । विकास एकै चोटि चाहिन्छ हामीलाई पनि बाटो बन्ला भन्ने विश्वासमै छौँ । पर्यटकीय ठाउँमा तीव्र सडक बनोस् भन्ने चाहाना उनको छ ।
‘हामीका लागि मात्रै होइन यहाँ सडक बने त सबैभन्दा ठुलो पर्यटकलाई नै सहज हुन्छ जति सहज हुन्छ । बाटोको अवस्था यस्तो हुँदा त मङ्सिर पुसमा यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन भने सडक बन्यो भने त पर्यटक नै थेगिनसक्नु हुन्छ । एकै पटक टेन्डर परेर काम भएको भए सहज हुने उनी सुनाउँछन् । किस्ता किस्तामा सडक बन्दा समेत समस्या भइरहेको छ । असार साउन भदौ र असोजमा पूर्ण रूपमा बस बन्द हुँदै आइरहेको छ’ उनले भने ।
यस्तै मादी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देवीजंग गुरुङ पनि बर्खाको तीन महिना सडक सञ्जाल अवरुद्ध जस्तै हुने गरेको सुनाए । सडकको कारण पर्यटकले समेत निकै गुनासो पोख्ने गरेको उनी सुनाउँछन् । उनकाअनुसार गत वर्ष एक महिना सडक अवरोध भएको थियो त्यसपछि तीन महिना निकै कष्टकर तरिकाले सवारी आवतजावत गरिएको थियो । विशेष गरी असार, साउन र भदौ महिनामा सडक अवरोध हुँदै आइरहेको उनको भनाइ छ । पोखरा सिक्लेस पहिलो खण्ड र दोस्रो खण्ड गरी २० किमी सडक कालोपत्रे भएको छ । चौथो चरणमा माघ २८ र ३० गते टेन्डर आह्वान भएको थियो । चिप्लिदेखी सिक्लेस सम्मको सडक स्तरोन्नति आवश्यक रहेको उनी सुनाउँछन् । ‘गाउँ स्वर्ग जस्तै छ, यहाँ भनेजस्तै ठाउँ छ विकासको हिसाबले पनि तर, बाटोले साह्रै दुःख दियो मात्र भन्छन् पर्यटकहरू । यो सडक स्तरोन्नति राम्रो भयो भने प्रत्यक्ष लाभ त स्थानीयलाई नै हुन्छ दोस्रो पर्यटकका लागि पनि राम्रो हो’ उनले भने, ‘अहिले बाह्रै मासे बस आउने अवस्था रहँदैन । सडकको कारण नै बर्खामा बस मात्र नभई जिपहरू समेत आउन निकै मुस्किल छ । यहाँ बस र जिप मात्रै नभई दुई पाङ्ग्रेमै आउनेको पनि ठुलो चाम छ तर, बर्खामा उनीहरू यहाँ आउन सक्दैनन् । निजी सवारी र सार्वजनिक बसका लागि पनि कठिन छ ।’
मादीका १२ मध्ये चार वटा वडामा बाहेक अन्यमा छैन कालोपत्रे
मादीको गत आर्थिक वर्षको तथ्यांकअनुसार गाउँपालिकामा कुल ४७१.६६ किमी सडक रहेका छन् जसमध्ये कालोपत्रे सडक कुल २०.७३ किमी रहेको छ । जुन वडा ४, ५, ६ र ७ मा मात्रै रहेको छ । यस्तै कङ्क्रिट सडक कुल १.८४ किमी रहेको छ । माटोको (कच्ची) ३६९.४७ किमी रहेको छ जुन मादीका १२ वटै वडामा रहेका छन् । नयाँ ट्रयाक ७९.६१ किमी रहेको छ । यस्तै पुष्पलाल मध्य पहाडी लोकमार्गअन्तरगत कुल ३९.०६ किमी सडक रहेको छ । जसमा १२.२९ किमी कालोपत्रे, १५.८४ किमी कच्ची, ग्राभेल ७.५२ र नयाँ ट्रयाक ३.४१ किमी रहेको छ । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले अहिले सडकको स्तरोन्नति हुँदै गइरहेको सुनाउँछन् । भूगोल ठुलो भए पनि फरक–फरक गाउँ जाने फरक फरक बाटो रहेको छ । माटो खन्ने र पुर्ने मात्र नभई सबै काम हुनेगरि काम गरिरहेको उनले सुनाए । मादीमा निकै विकट भनिने मिजुरे खण्डदेखि साम्लेसम्म सङ्घीय साझेदारी परियोजनामा एक करोड २० लाखको सडक स्तरोन्नति हुँदै छ । मादिको कोरिडोरको रूपमा लिइएको लम्तरी मार्गलाई स्तरोन्नति गर्ने योजना रहेको उनले सुनाए । ‘यो वर्षबाट हामीले सडक पुरा गर्दैछौ । सिक्लेस पुग्ने ३६ किमीको सडक हो १० किमी तयार भइसकेको छ १० किमी सम्पन्न हुँदैछ र ६ देखी आठ सय मिटर पनि यो वर्षभित्रै सम्पन्न हुने चरणमा छ’ उनले भने, ‘अर्को १० करोडको लागतमा टेन्डर आह्वान नभइसकेको अवस्था छ । अब हामी संघ सिक्लेस पुग्न पाँच–६ किमी सडक रहन्छ भन्ने लाग्छ हामी आफैले ठुलो योजना गर्न सक्दैनौँ यसका लागि प्रदेश र संघ सरकारलाई नै हामीले गुहार्ने हो हाम्रो पहिलो जोड नै सिक्लेस हो किनकि सिक्लेस प्रख्यात पर्यटकीय क्षेत्र हो सिक्लेस जान सहज बाटो हुनै पर्छ र यसका लागि हामी सबै लागिपरेका छौँ । हाम्रो बलबुताले भ्याउँदैन ।’ माघ १ गते सञ्चार मन्त्री आउँदा मुख्य माग नै सिक्लेससम्मको सडक कालोपत्रे हुनुपर्ने रहेको थियो । त्यसपछि संघ सरकारबाट १० करोडको बजेट विनियोजन भएको थियो । फागुन पहिलो साता टेन्डर आएको थियो । हाल काहुँखोलाबाट सिक्लेस जाने १० किलोमिटर कालोपत्रे भएको छ भने १० किमी कालोपत्रे यो वर्ष सम्पन्न हुँदैछ । सङ्घीय सरकारबाट अब ६ सयदेखि सात सय मिटर कालोपत्रे र ढलान सडक सिक्लेस अन्तरगतकै हुँदैछ । यो वर्षका लागि दश करोड रुपैयाँ थप रकम विनियोजन भएको अध्यक्ष गुरुङको भनाइ छ । ज्याम्दुङदेखी ताङतिङसम्मको सडकलाई बहु वर्षे योजनाअन्तरग राखीको छ । जसअन्तरगत काउरे डाँडाबाट ताङतिङ जाने करिब पाँच किमी सडक अहिले ढलान हुने स्थितिमा पुगेको छ । कसेरी, भैसे, याङ्जाकोट ११.१६० किमी सडक कालोपत्रे भएको र ३.५ किमी कालोपत्रेको अन्तिम चरणमा रहेको छ । पछिल्लो पटक एक करोड रुपैयाँको योजनामा समेत सो सडकमा परेको छ । ज्याम्दुङबाट याङ्जाकोटसम्म दुई करोड रुपैयाँको योजना अघि बढिरहेको छ । मादी गाउँपालिकाको सबैभन्दा पुरानो मार्ग सौर्य, राखी, मिजुरे सडकमा यो वर्ष एक करोड ६९ लाख रुपैयाँको ढलान काम अघि बढेको छ । सो सडकमा गत वर्ष प्रदेश सरकारको समेत एक करोड रुपैयाँ परेको थियो । भगवती–लम्तरी वहुवर्षे योजना अन्तरगत समेत अहिले काम चलिरहेको छ ।
पहिरोको पनि उच्च जोखिम
गत वर्षको भदौमा पहिरो जाँदा सिक्लेस जाने सडक पहिरोका कारण एकसाता अवरुद्ध भयो । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्नका लागि दुईवटा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता आइलागेको थियो । पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुङ्गे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारी साधनमा चढेर गन्तव्यमा पुग्नु परेको थियो । पहिरोले त्यति बेला ७० मिटर जति सडकमा क्षति पु¥याएको छ । त्यो बाहेक मादीका धेरै स्थानमा पहिरो गएका थिए । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० अद्यावधिकको तथ्यांकअनुसार मादी गाउँपालिकाका वडा नम्बर १, २, ६, ७, ८, १० र १२ अति उच्च जोखिमयुक्त वडा हुन् । यस्तै वडा ११, ३, ४ र ५ उच्च जोखिमयुक्त वडा हुन् । पहिरोका कारण समेत मादीमा सडक सञ्जाल अवरोध हुने गर्दछ ।





