बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी पर्यो’

‘महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी पर्यो’


  • हरिकृष्ण गौतम
  • फाल्गुन २४ २०८१, शनिबार

म्याग्दी/नेपालको संविधानले महिलालाई अनिवार्य गरेको अधिकार व्यवहारमा लागू गर्न चुनौती रहेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । १ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरकार्यपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा बोल्ने बक्ताले महिलाले पाएको अवसरलाई सदुपयोग गर्दै पुरुषसरह महिलाले पनि काम गर्न सक्छन् भन्ने सोच समाज विकास गर्न जरुरी रहेको बताइएको थियो । महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी परेको महिला अधिकारकर्मीको भनाई थियो ।
दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले अवसर र अधिकार दिने हो भने पुरुषले गरेको भन्दा महिलो गरेको कामकारबाही बढी प्रभावकारी हुन्छ भन्ने समाजमा नेतृत्वदायी भूमिकामा रहेका महिलाले सावित गरेको बताइन् । महिलाले केही गर्न सक्दैनन् होइन कि अवसर र अधिकार दिए जे पनि गर्न तयार छन् भन्ने उदाहरण हेरेर अब अवसरमा कन्जुसाई गर्न नहुने बताइएको थियो ।
सोही अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्य, बह्माकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाकी प्रमुख रिना दिदी, नेपाल पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, दिदी बहिनी सहकारीकी अध्यक्ष सुगम श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) नगर अध्यक्ष अम्बिका ढुंगानाले मन्तब्य राखेका थिए । दिवसको अवसरमा महिला अवसर र नेतृत्व विषयक लोकगीत प्रतियोगिताको समेत आयोजना गरिएको थियो । बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक चक्र केसीको स्वागत र महिला विकास शाखाकी डम्सरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->