बागलुङ/कालीगण्डकी किनारको मालढुंगा, सदरमुकाम र आसपासका धेरै मानिसको दाहसंस्कार गर्ने घाट हो । यहाँ दैनिक जसो शव ल्याएर जलाइन्छ । चर्को घामा लाग्दा वा झरी पर्दा शवयात्रामा आउने मलामी बस्नका लागि बनेको पाटी अहिले प्रहरीको चौकी बनेको छ ।
७ महिना भयो यो पाटीमा मालढुंगा प्रहरी चौकी बस्न थालेको हो । थोत्रा जस्तापाताले बारेर यहाँ चौकीका प्रहरीहरु बस्दै आएका छन् । २०५१ सालमा बागलुङमा नियमित गाडी चल्न थालेपछि मालढुंगामा सुरक्षा व्यवस्था शुरु भएको थियो । कालीगण्डकी नदीको पुल छेउमा प्रहरीले अस्थायी छाप्रामा बसेर नियमित सुरक्षा दिइरहेको हो । जिल्लाको पहिचान बताउने सिमानामा अहिलेसम्म प्रहरी चौकी बन्न नसकेपछि प्रहरी घाटको पाटीमा बस्न बाध्य भएका छन् ।
जिल्ला प्रहरीसहित अन्यत्रका अधिकांस चौकी पक्की घरमा बसेका छन् । तारबार लगाइएको पर्याप्त कोठा भएका घरहरु छन् । तर, मालढुंगाको प्रहरी चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा शितल बस्ने स्थान पनि नभएको हो । यसअघिको चौकीको छाप्रो पनि सडक मापदण्डमा भन्दै भत्काइएपछि अहिले घाटमा आश्रय लिएर बसेको हो । भत्काइएको स्थानमा पनि अहिले केही बनेको छैन । मापदण्डमा सडक चौडा पार्ने काम पनि भएको छैन । कुनैबेला कालीगण्डकी नदीमा अर्को पुल बनाउनु परेमा त्यसको ठाउँ पनि छुट्टाइएको छैन ।
यहाँ प्रहरी र ट्राफिक चेकपोष्ट समेत १५ जनाको दरबन्दी छ । यो चौकीमा चौबीसै घण्टा काम पर्छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको संगमस्थल भएकोले दैनिक सयौं गाडी गुड्छन् । राजमार्ग भएकोले सवारी चेकजाँच गर्नुपर्छ । जस्तोसुकै मानिससँग छलफल र बहस गर्नुपर्छ । आफ्नो भवनको समेत सुरक्षा नभएको स्थानमा प्रहरीले जनताको सुरक्षाको काम गरिरहेका छन् ।

यस अघिको छाप्रोबाट हावाहुरी आउँदा जस्तापाता उडाएर लगेको थियो । यहाँ प्रहरी नायव निरीक्षकको नेतृत्वमा बस्ने प्रहरीले घाटमा पकाएर खाने र सुत्ने गर्नुपरेको गुनासो गरेका छन् । यहाँ २ जना ट्राफिक दरबन्दी पनि छ । यो जिल्ला प्रवेशद्वार पनि हो । चौबिसै घण्टा सडकमा गुड्ने सवारी साधनको इन्ट्री यही चौकीले गराउँदै आएको छ । शंकास्पद गाडीमा खान तलासी गर्ने, शंकास्पद मानिस भेटिएमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाउने काम भैरहेको छ । तर सडकमा उभिएका ती प्रहरी कहिले धुलाम्मे त कहिले हिलाम्मे भएर बस्न बाध्य छन् ।
प्रहरीले रेकर्ड रजिष्टर र बरामद भएका काजगात जोगाउन समेत हम्मेहम्मे परेको गुनासो गरेका छन् । पक्राउ परेकालाई राख्ने कोठा नभएपछि झनै जोखिम हुने प्रहरीको गुनासो छ । यहाँ अत्याधुनिक चौकी बनाउने चर्चा भएर पनि काम अगाडि बढ्न नसकेको हो ।
मालढुंगाको हाल प्रहरी बसेको स्थान कालीका गुठी र लक्ष्मीनारायण गुठीभित्र परेकोले भवन बनाउन नसकेको प्रहरी उपरिक्षक ऋषिराम कंडेलले बताए । जग्गा व्यवस्थापनका लागि गुठीमा पत्राचार गरेको र गुठी संस्थानसम्म जानकारी भैसकेकोले भवन निर्माणको बाटो खुल्ने आस भएको कँडेलको भनाइ छ ।
प्रहरी र स्थानीय तहले सहकार्य नगरेपछि जग्गा व्यवस्थापन ढिलाइ भएको गुठीका अध्यक्ष कुमार खड्का बताउँछन् । बागलुङ नगरपालिकाले चालु वर्षका लागि १० लाख रुपैयाँ समेत विनियोजन गरेकोले समन्वयमा काम थाल्ने योजना पनि उनले सुनाए । तर आफ्नै भवन बनाउने विषयमा भने प्रहरीले अहिलेसम्म कुनै योजना नबनाएको हो । आफ्नै भवनका लागि ४ रोपनी जग्गा आवश्यक पर्ने र मालढुंगामा उक्त जमिन नपाएकोले योजना बन्न नसकेको उनको भनाइ छ ।





