बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सडकले फेरियो दुर्गम बस्तीको दैनिकी

सडकले फेरियो दुर्गम बस्तीको दैनिकी


  • हरिकृष्ण गौतम
  • फाल्गुन २८ २०८१, बुधबार

म्याग्दी/भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको चेचुङ गाउँकी ६० वर्षीया जितकुमारी घर्तीको दैनिकी अहिले फेरिएको छ । गाउँबाट उपचारका लागि स्वास्थ्य चौकी जान दिनभरी लाग्ने जितकुमारी अहिले एकघण्टामै पुग्छिन् । जितकुमारीजस्तै ४० वर्षीया कुमारी घर्तीलाई गाउँमै सडक पुगेपछि अहिले कृषि उपजको बिक्री तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा निकै सहज भएको छ । एक वर्षअघिसम्म गाउँमा उत्पादन हुने कृषि उपजका साम्रागी बिक्री गर्न छिमेकी मालिका गाउँपालिकाको केन्द्र दरबाङसम्म पुग्न दिनभरी लाग्नेमा अहिले चेचुङबासीले खेतबारीबारीमा उत्पादन हुने तरकारी गाडीबाटै ३ घण्टामै दरबाङ पुग्छ ।
सडक सञ्जालको कल्पनासमेत नगरेका चेचुङ जस्तै मुदीको जेल्टुङ गाउँबासीको दैनिकी सडक सञ्जालले गाउँ छोएपछि परिवर्तन भएको छ । सदरमुकाम बेनीबजार पुग्न दुई दिन लाग्नेमा अहिले ६ घण्टामा सजिलै पुगिने स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए। ‘सडक गाउँमा पुगेपछि बल्ल बिकासको अनुभुति गर्न पाइयो, पहिले दुई– तीन दिन लाग्नेमा अहिले एकैदिनमा बजार गएर घर फर्किन सकिन्छ,’ तिलिजाले भने । विश्वकै सातौं अग्लो धौलागिरी हिमालको प्रवेशद्वारसमेत मानिने जेल्टुङ र बगर गाउँबाट बसाइँसरेकाहरू पनि अब सडक सञ्जाल गाउँमै फर्किने योजना बनाइरहेको बगरका गमबहादुर पुनको भनाइ छ ।

‘सडक पुगेपछि अब रित्ता घरहरू भरिन्छन्, विकासले नै रहेछ गाउँमा चहलपहल बनाउने, फाटफुट्ट आउने गाउँबासीहरू फर्किन थालेपछि अहिले विस्तारै चहलपहल भइरहेको छ,’ पुनले भने । धौलागिरी हिमाल जाने पर्यटकको भारी बोग्ने, बजारबाट पिठ्यूँमा नुन, तेल, खाद्यान्न र लत्ताकपडाको भारी बोकेर जीवन गुजार्ने गर्ने स्थानीयको जीवनशैली सडककै कारण परिवर्तन भएको छ । हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले सामाजिक उत्तरदाहित्व अन्तरगत नाउरा,चेचुङ र जेल्टुङ गाउँमा सडक पु¥याएपछि अहिले बगर, मिस्तुङ, सिमकोस लगायतका बस्ती सहित ४७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । सडक सुविधा भएपछि गाउँमा उत्पादन हुने कृषि उपजमा समेत स्थानीयले चासो देखाउन थालेको वडा अध्यक्ष यामबहादुर घर्तीले बताए । ‘जलविद्युत बन्न थालेपछि व्यापार गर्ने, कृषि उत्पादन बिक्री समेत हुन थालेको छ, गाउँमै मजदुरी गर्न पाएपछि अहिले विदेशबाट फर्किएकाहरू पनि ब्यस्त छन्,’वडा अध्यक्ष घर्तीले भने । गाउँमा ढुवानी बाहेक सदरमुकामकै मूल्यमा उपभोग्य सामग्री पाइन थालेको छ ।
मुदीको नरबाङलगायतका केही बस्तीमा अहिलेसम्म सडक पुग्न सकेको छैन । धवलागिरी गापा–४ मुदीमा म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् । हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला,उर्जा डेभलपर्स प्राली. अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको ५३ दशमलब पाँच मेगावाट र हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माण सुरू गरेको छ । तीनवटै जलविद्युत आयोजनाले सडक सञ्जाल विस्तारमा सघाएपछि स्थानीयको गाउँमै मोटरमा पुग्ने रहर पूरा भएको छ ।
गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिकाको बजेटबाट वर्षौंसम्म सडक सञ्जालको कल्पना नगरिएका बस्तीमा सडक जलविद्युत आयोजनाको कारण सडक पुगेको बताए ।‘विकासमा जलविद्युत आयोजनाले सघाएको छ,समुदायको आयआर्जन र रोजगारीमा पनि हामीले प्राथमिकता दिएका छौँ,’अध्यक्ष पुनले भने । धौलागिरी हिमाल हुदै बग्ने म्याग्दी र गुर्जा हिमाल लगायत सहायक नदीहरुबाट गाउपालिकाभित्र ८ वटा जलविद्युत आयोजना दर्ता भएको मध्ये तीनवटा आयोजनले काम सुरू गरेपछि अहिले गाउँबस्तीमा चहलपहल भइरहेको छ । गाउँपालिकाले संघीय र प्रदेश सरकारको साझेदारीमा जिल्लाकै अति विकट मानिन धवलागिरी–१ गुर्जामा सडक सञ्जाल पु¥याउने प्रयासमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->