बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दिएका सबैको उम्मेदवारी कायम रहेको छ । उम्मेदवारहरुको उम्मेदवारी कायम रहेपनि स्वतन्त्र विद्यार्थी समुहले उम्मेदवारी फिर्ताको लागि निवेदन दिएको र उम्मेदवार दिनु भएका दिपक सुवेदीले उम्मेदवार फिर्ता नगर्न भनि निवेदन दिएको निर्वाचन समितिले जनाएको छ ।
समुहको फिर्ताको लागि निवेदन र उम्मेदवारी दिएका सुवेदीले उम्मेदवार फिर्ता नगर्न भनि निवेदन दिएपछि आवश्यक निर्देशनका लागि त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा परिपत्र गरिएको निर्वाचन समितिका सदस्य रामु आचार्यले जानकारी दिए ।
गत २७ गते भएको उम्मेदवार मनोनयन दर्ताका क्रममा नेविसंघका नेता तथा स्ववियुका निवर्तमान उपाध्यक्ष सुवेदीले आफुलाई नेविसंघबाट अन्याय भएको भन्दै स्वतन्त्र विद्यार्थी समुहबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
अखिल संयुक्तको प्यानलबाट सभापतिमा आस्विन शेख, सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा बिकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन बिश्वकर्मा र किस्मत घर्ती मगरले उम्मेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघको प्यानलबाट सभापतिमा सृष्टि आचार्य, सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा बिशाल थापाले उम्मेदवारी दिएका छन् । यस्तै, सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासवावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उम्मेदवारी दिएका छन् ।





