बागलुङ/चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ दुइ प्यानल मात्रै चुनावमा होमिएका छन् । कांग्रेस निकट नेविसंघको एकल प्यानल छ भने सबै अखिल र राप्रविसंघको संयुक्त प्यानल छ ।
कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको हो भने एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनेको हो । दुइ प्यानलबीच चुनावको प्रतिस्पर्धा रोचक छ । धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्याम्पस भएकोले राजनीतिक दल, सामाजिक क्षेत्र र आम नागरिकले पनि यो निर्वाचनलाई चासोका साथ हेरेका छन् ।
धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक छात्रा अर्थात् महिला स्ववियु सभापति पाउने अवस्था पनि बनेको छ । नेविसंघले हालकी कोषाध्यक्ष सृष्टी आचार्यलाई उमेदवार बनाएको हो भने अखिल संयुक्तबाट हालकी सदस्य आस्मीन शेखलाइ उमेदवार बनाएको छ । दुवैजना स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् ।
चुनावी सरगर्मी बढ्दै गर्दा विद्यार्थी नेता बाहेक राजनीतिक दलका नेता समेत क्याम्पसमा बाक्लो उपस्थिति हुने गरेको छ । त्यस बाहेक नेताहरुले ग्रामीण क्षेत्रमा पुगेर अभिभावक भेट्दै मत मागेका छन् । यो निर्वाचनलाई विशेषगरी कांग्रेस र एमालेले नै प्रतिष्ठाको विषय बनाएको देखिन्छ । स्ववियु इतिहासमा कहिले कांग्रेस त कहिले एमालेको नेतृत्व रहेपनि पछिल्लो चार कार्यकाल नेविसंघको निरन्तरता छ । त्यसैले अखिलहरु आफ्नो नेतृत्व भित्राउन चाहन्छन् भने नेविसंघले मत माग्दा पनि ‘निरन्तरतामा नविनता’ भन्ने नारा लगाएको छ । निर्वाचनमा होमिएका नेविसंघ र अखिलका उमेदवार कसरी चुनावमा जाँदैछन् ? यो सबैको चासोको विषय पनि भएको हो ।
नेविसंघका बाघी उम्मेदवार दिपक सुवेदीको उमेदवारी फिर्ता
आसन्न स्ववियु निर्वाचनकालागि धौलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समूहबाट अध्यक्षमा उमेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका छन् । क्याम्पसले अन्तिम नामाबली प्रकाशित गर्दा उनको नाम समेत आएपछि सुवेदीले शुक्रवार पत्रकार सम्मेलन गरेर नाम फिर्ताको घोषणा गरेका हुन् ।
उनले सृष्टी आचार्य अध्यक्ष रहेको नेविसंघको औपचारिक प्यानललाई नै समर्थन गरेको बताए । ‘मैले वारेस मार्फत उमेदवारी दिएको थिएँ, वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर समयमै जानकारी गराएको थिएँ’ उनले भने, ‘प्राविधिक कारणले नाम रहेपनि मेरो उमेदवारी कायम छैन ।’ उनले मिडप्याक गरेको घोषणा गरेका हुन् । सुवेदीले आफ्नो कारणले नेविसंघको कमजोर उपस्थिति नहोस् भनेर नाम फिर्ता गरेको बताए । ‘तातो रगतको जोशमा उमेदवारी दिएको थिएँ, अब जोसले हैन, संगठनको लागि उमेदवारी फिर्ता गरेको छु’ उनले भने, ‘पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हो ।’
सृष्टी आचार्य (सभापति उमेदवार, नेविसंघ)
नेविसंघको तर्फबाट स्ववियु सभापतिमा उमेदवार बनेकी आचार्य बानपा ५ की बाबु दिपक आचार्य र आमा गीता सापकोटाकी जेठी छोरी हुन् । मालिका माविबाट २०७२ को एसएलसीपछि उनी नेविसंघमा आबद्द भएकी थिइन् । विद्यामन्दिर माविबाट कक्षा १२ पास गरेपछि धौलागिरी बहुमुखी क्याम्पसमा आइपुगेकी सृष्टी हाल एमबिएस अध्ययनरत छिन् । हाल पृथ्वी नारायण क्याम्पसमा पनि उनी कानून पढ्दैछिन् ।
कोषाध्यक्ष भएर काम गर्दा उनले क्याम्पसलाई गुणस्तर प्रत्यायान सुनिश्चित गराउने अभियानमा विद्यार्थीले भूमिका खेलेको बताउँछिन् । त्यस बाहेक आर्थिक संयोजक भएर छात्रवृत्ति कोष बनाउने काममा पनि सक्रिय भइन् । १ करोड संकलन गर्ने लक्ष्य पुरा गर्ने अभियानमा उनीहरुले काम गरिरहेका छन् । छात्रा भलिबललाई स्थापित गर्न उनकै नेतृत्वमा गोरखासम्म पुगेर आंगिक क्याम्पस स्तरीय खेल जितेको उनले स्मरण गरिन् ।
क्याम्पसको उद्यमी क्लबको पनि उनी अध्यक्ष हुन् । यो क्लबमार्फत छात्रालाई उद्यमशिल बनाउने काममा लाग्दा २० जनालाई निशुल्क व्यवसायिक तालिम संचालन गरेर उद्यममै लगाउन पनि सकेको उनले बताइन् । शेयर मार्केटबारे सचेतना लगायतका उद्यमशिलतका क्षेत्रका विविधता पनि उनीहरुले सिकाएका छन् ।
स्ववियु सभापति निर्वाचित भएमा विद्यार्थीको साझा समस्या समाधानमा लाग्ने बताइन् । टाढाबाट आएर पढेका विद्यार्थीहरु छात्रावासमा बस्ने वातावरण सिर्जना गर्ने, हिंडेर आउनुपर्ने स्थानका विद्यार्थीका लागि तत्कालै क्याम्पस बस संचालनको पहल गर्ने, विभिन्न संस्थाको सहकार्यमा पढ्दै कामाउने कार्यक्रम जोड्ने, कक्षा कोठामा स्मार्ट बोर्ड र पेपरलेस पद्दतीको विकास गर्ने, शैक्षिक भ्रमणका लागि नयाँ ट्रेकिङ ट्रेलको व्यवस्था गर्ने योजनाबारे उनले जानकारी दिइन् ।
स्ववियुकै अगुवाईमा सात वर्षभित्र मानक विश्वविद्यालय बनाउने पहल गर्ने नेविसंघको प्रतिवद्दता पत्र समेत सार्वजनिक भएको छ । क्याम्पसमा इ–लाइब्रेरी संचालन गर्ने, बिसिए पढाइको पहल, पेड इन्टनसिपको व्यवस्थापन गर्ने र विज्ञान संकायमा बोटानिकल गार्डेनको व्यवस्था गरिने उनले जानकारी दिइन् ।
विशेषगरी इन्डोर खेलको लागि संरचना तयारी भैरहेकोले त्यसलाई पुर्णता दिने उनले बताइन् । शिक्षाको गुणस्तर विकासका लागि छात्रवृत्ति कार्यक्रम बढाउने, बिपन्न विद्यार्थीलाई छात्रवृत्ति र न्युन शुल्कमा पढ्ने वातावरण सिर्जना गर्ने योजना उनले सुनाइन् । जलवायु परिवर्तनको असर न्युनिकरणका लागि ग्रिन गार्डेन अभियान संचालन गर्ने संगठनको घोषणापत्र कार्यान्वयन गर्ने समेत उनले प्रतिवद्दता जनाइन् ।
आस्मीन शेख (सभापति उमेदवार, अखिल संयुक्त)
अनेरास्ववियुको जिल्ला सचिवालय सदस्य रहेकी शेख बाबु शलील दिन र आमा जमिला खातुनकी छोरी हुन् । बागलुङ नगरपालिका ३ किराना टोलको मुस्लिम समुदायमा छोरीलाई बाहिर निस्कनै नदिने अवस्थामा उनलाई परिवारले मेहेनत गरेर नीजि विद्यालय पढाए । अमृत आदर्श माविबाट एसएलसी, अमर आदर्शबाट कक्षा १२ कक्षा उत्तिर्णपछि धौलागिरि क्याम्पस आइपुगेकी शेख अहिले एमए, समाजशाष्त्र विभागमा अध्ययनरत छिन् ।
उनले सदस्य भएर काम गर्दा डिजिटल मार्केट विषयमा विद्यार्थीेलाई जानकारी दिएर उद्यमशिल बनाउने काममा लागेको बताइन् । स्ववियुले नै यस्ता अवधारणा पनि ल्याएको थियो । विद्यार्थीहरु उद्यमी बन्नुपर्छ भनेरै बिबिए पढ्दा चैत्राष्टमी मेलामा स्टल राखेर विद्यार्थीलाई व्यवसायमा उन्मुख गराएको उनले बताइन् ।
क्याम्पसमा धेरै छात्राहरु भएर पनि छात्रामैत्री शौचालय थिएन, स्ववियुकै अगुवाईमा छात्रामैत्री शौचालय बनाउने क्रममा शेखले नेतृत्व लिएर भेन्डिङ मेसिन समेत जडान भएको छ । जसका कारण महिनाबारी भएका वा अन्य समस्या भएका छात्रालाई सहज भएको छ । पहिलो पटक यो मेसिन बिबिए संकायमा जडान गरिएको हो । वार्षिकोत्सव सहितका विभिन्न कार्यक्रममा छात्राहरुको खेल प्रतियोगिताको संयोजन गर्ने काम पनि उनले गरेकी थिइन् ।
आँफू सभापतिमा निर्वाचित भएमा विदेश जान खोज्ने युवालाई पढ्दै रमाउँदै गर्ने वातावरण सिर्जना गर्ने योजना बनाउने उनले सुनाइन् । त्यसो त स्ववियुलाई अनेकतामा एकता भएको बनाउने र सबैको साझा संस्था बन्ने लक्ष्य सुनाइन् । त्यस बाटेक क्याम्पसमा बढाइएको अस्वभाविक शुल्क घटाउन पहल गर्ने उनको भनाइ छ । ‘अहिले महंगो शुल्कका कारण विद्यार्थीले पढ्न नसक्ने अवस्था छ, त्रिविले तोकेको शुल्कभन्दा बढी तोकेर पढ्न नसक्ने बनाएको छ’ उनले भनिन्, ‘विद्यार्थीको प्रतिनिधिमार्फत ती शुल्क घटाएर पढ्न सक्ने बनाउन प्रयास गर्छौ ।’ विशेषगरी बिबिए र बिएस्सी महंगो भएको उनले बताइन् ।
त्यस बाहेक खर्चको पारदर्शीता हुनुपर्ने माग राखेको उनले बताइन् । क्याम्पस प्रशासनले आर्थिक पारदर्शीता नगर्ने अवस्था अन्त्य गरेर जवाफदेही प्रशासनका लागि पहल गर्ने उनले बताइन् । गुणस्तरीय शिक्षा उनको एजेण्डामा छ । समुदायमा पछि परेका र शिक्षाका लागि बाहिर निस्कनै नसकेका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा ल्याउने उनले प्रतिवद्दता जनाइन् ।





