बागलुङ/स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने नाराका साथ विश्व उपभोक्ता दिवश मनाइएको छ । शनिवार पर्यटन तथा उद्योग कार्यालय, बागलुङको आयोजनामा दिवश मनाइएको हो ।
दिवशको अबसरमा उपभोक्ता सचेतना बढाउनुपर्ने, खाद्यबस्तु, दैनिक उपभोग्य बस्तुको उपयोग र नागरिकहरु प्रत्यक्ष जोडिने सबै कार्यमा उपभोक्तामैत्री वातावरण चाहिने पनि बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नागरिकको हित हुने गरी व्यवसाय र उपभोग्य बस्तुको प्रयोग गर्नुपर्ने बताए ।
अत्याधिक महंगी, कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री जस्ता कामबाट उपभोक्ता ठग्ने र नाजायज व्यपार गर्ने कसैले पनि सोच्न नहुने भन्दै त्यसकालागि आम नागरिकलाई सचेत बनाउने काम जरुरी भएको बताए । उनले व्यवसायीले पनि नागरिकको हितमा सचेत बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले व्यवसायीलाई हतोत्साही बनाउने सरकारी संयन्त्रको बानी सुधार्नुपर्ने धारणा राखे । साथै उनले उपभोक्ताको हित बिपरित कसैले कालोबजारी वा अन्य अखाद्यबस्तु बेच्ने गरेको पाएमा कारवाही गरिने पनि बताए ।
पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिं थापाको अध्यक्षता, शाखा अधिकृत बिष्णुनाथ शर्माको संचालनमा भएको कार्यक्रममा उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अधिवल, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यवसायी र उपभोक्ताहरुको सहभागिता थियो ।
दिवशको अबसरमा कार्यालयले १० बुधे उपभोक्ता हितका शर्तहरु पनि सार्वजनिक गरेको थियो । कारोवार स्थलमा साइनबोर्ड र मूल्य सूचि राख्नुपर्ने, प्याकिङ सामानमा लेबल र उत्पादकको नाम ठेगाना चाहिने, व्याच नम्बर तौल र उत्पादन मिति राख्न पनि आग्रह गरिएको छ ।
बस्तु उत्पादन गर्दा प्रयोग भएको कच्च पदार्थ बारे उपभोक्तालाई जानकारी दिनुपर्ने, भण्डारन विधि उपयोग गर्नुपर्ने, सामान खरिद गर्दा नागरिकले बिल पाउनुपर्ने, नागरिक पनि सचेत भएर बील माग्ने बानी बसाल्नुपर्ने, कमसल वा उपभोग्य बस्तु वा सेवाको प्रयोगबाट कुनै हानी भएमा नागरिक खवरदारी आवस्यक भएको र उपभोक्ता हित बिपरितका काम भएको पाएमा नागरिकले पनि तत्काल उजुरी गर्नुपर्ने जस्ता सचेतना बारे थापाले जानकारी गराएक ाथिए ।





