बागलुङ/सातादेखि आकास धुम्म छ । धुलो धुँवा र जतासुकै आगोलागीले मौषम खराब बनेको छ । यो खराब मौषमको असर ढोरपाटन सिकार आरक्षमा पनि परेको छ ।
आरक्ष क्षेत्रसहित देशभरको खराब मौषमका कारण हेलीकोप्टर नउड्दा ढोरपाटनमा सिकार खेल्न आएका सिकारीहरु काम सकेर फर्कन पाएका छैनन् । ढोरपाटनको सेङ र धुस्तुङमा २ सिकारी सातादेखि अलपत्र छन् भने अन्य ७ जना सिकारी पनि ब्लकमै रोकिएका हुन् ।
ढोरपाटनको आरक्ष कार्यालयदेखि ती ब्लकहरु ३ देखि ५ दिनको पैदल यात्रामा पर्छन् । सिकारीहरु हेलीकोप्टरमा तोकिएको ब्लकमा पुगेपछि दुइदेखि तीन सातासम्म बसेर सिकार गर्छन् । सेङ ब्लकमा काम सकेका एक अमेरिकी र एक जना स्पेनिस सिकारी फर्कन नपाएको हिमालयन वाइल्ड लाइफ आउटफिटरर्स प्रालिका संचालक दिपक थापाले बताए ।
उनीहरुले चैत २१ गते नै सेङ ब्लकमा काम सकेका थिए । सेङबाट धुस्तुङ ब्लकमा ३ दिन हिंडेर आइपुगेपछि भने उनीहरु रोकिएका हुन् । पैदलै हिंडेर ढोरपाटन आइपुग्ने बाटो अप्ठ्यारो भएकोले उनीहरु क्याम्प बनाएर बसिरहेका हुन् । ‘हेलिकोप्टर बोलाएको पाँच दिन भयो, मौषम खराब छ भनेर आएको छैन’ थापाले भने, ‘धेरै दिन बस्नुपरे गाह्रो हुन्छ ।’
भिजिविलिटी नभएकोले देशका धेरै उडान बन्द भएका छन् । यहाँ पनि सोही कारणले हेलीकोप्टर नउडेको हुन सक्ने आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए । हेलीकोप्टर ल्याउने काम सम्बन्धीत कम्पनीले गर्ने भएकोले थाहा नपाएको उनले बताए ।
ढोरपाटनका ब्लकमा समेत बेलाबेला मौषम खराब हुने गर्छ । वर्षात भयो भने हिमपात हुन सक्ने भएकोले सिकारीलाई छिटो सुरक्षित स्थानमा पठाउन खोज्दा ढीला भएको थापाले गुनासो गरे । ‘एक जनाको त बिहिबार फर्कने टिकट थियो, अब रद्द गर्नुको विकल्प भएन’ उनले भने, ‘तोकिएको समयमा हिंडेका सिकारीहरु नमज्जा मानिरहेका छन् ।’
सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार, चालु वर्षको दोश्रो सिजनमा आएका १४ जना सिकारीमध्ये अहिलेसम्म ५ जना मात्रै फर्केका छन् । २ जना धुस्तुङमा अलपत्र परेको जानकारी पाएपनि अन्य ७ जनाले अझै खबर नगरेको उनले बताए ।
चालु वर्षको दोश्रो सिजनको रुपमा चैत महिनामा १३ नाउर, १० झारल र १२ बँदेलसहित ३५ जनावरका लागि सिकारीले टेन्डर पारेका थिए । टेण्डर पारेकामध्ये १ जना सिकारी नआएपछि १४ जनाको मात्रै इन्ट्री भएको सुवेदीले जानकारी दिए । सबै जना फर्केपछि मात्र विस्तृत विवरण आइपुग्ने भन्दै उनले प्रारम्भिक जानकारी मात्र पाएको बताए ।
यो वर्ष नाउरका लािग ८ लाख र झारलका लागि ६ लाख रुपैयाँमा टेन्डर परेको थियो । सिकारका लागि हिमालयन वाईल्ड लाईफ आउटफिटर्ससहित हिमालयन सफारिज, ग्लोबल सफारिज, ट्रयाक्स एण्ड ट्रेल्स, नेपाल ट्राभल एक्सपिजिसन, ओपन नेपाल वाईल्ड लाइफ सफारिज गरी ६ कम्पनीले अनुमति पाएका थिए । दोश्रो सिजनका लािग १ करोड २६ लाख राजश्व संकलन भएको छ । पहिलो सिजनको रुपमा असोज कात्तिकमा सिकार खुल्छ भने दोश्रो सिजनको रुपमा फागुन चैतमा खुल्ने गरेको हो ।





