पोखरा/ भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले २०८२ सालको भित्तेपात्रो विमोचनका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले पछिल्लो समय समाज नकारात्मकतातिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै बौद्धिक बर्गले सकारात्मक पक्षहरूलाई जोड दिएर समुन्नत समाज निर्माणमा भुमिका खेल्न सक्नु पर्नेमा जोड दिए । सामाजिक काममा भू.पू. विद्यार्थी मञ्चले देखाएको अग्रसरता उदाहरणिय रहेको उनको भनाई थियो ।
मञ्चका संस्थापक एवं निबर्तमान अध्यक्ष नबराज अधिकारीले आनन्द ज्योति मा.बि. मा अध्ययन गरेका पुर्व विद्यार्थीहरुलाई गोलबन्ध र संगठित गर्ने उदेश्यका साथ स्थापना गरिएको मञ्चले आफ्ना नियमित गतिविधिलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे । आफू संस्थापक अध्यक्ष भएको नाताले पनि मञ्चका हरेक काममा आफ्नो पुर्ण साथ रहने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीले बार्षिक कार्यक्रमको रुपमा भित्तेपात्रो प्रकाशन गरेर मञ्चले संस्थालाई चलायमान राखेकोमा प्रशंसा ब्यक्त गर्दै अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । मञ्चका अध्यक्ष विकासप्रसाद कडेलले भित्तेपात्रो प्रकाशनको लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबै सहयोग दातहरुलाई आभार प्रकट गरे । विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी, सल्लाहकार चन्द्रबहादुर सुबेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–३१ का सभापति केदारनाथ अधिकारी, मञ्चका निबर्तमान सचीव श्रीराम कडेल लगायतले बोलेका थिए । भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्णराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।





